प्रेस युनियनको महाधिवेशन तयारी तीव्र



 हेटौंडा ।

जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन तयारीका सन्दर्भमा सोमबार स्थानीय आयोजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेको छ ।

महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग र समन्वयका लागि आग्रह गर्दै आयोजक समितिले ट्रेड युनियन कांग्रेसको वागमती प्रदेश र मकवानपुर पदाधिकारी तथा सदस्यहरूसँग अन्तत्र्रिmया गरेको हो । अन्तत्र्रिmयाका क्रममा ट्रेड युनियन कांग्रेसका पदाधिकारीले युनियनको केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाउनु मकवानपुरका लागि गौरवको विषय भएको बताउँदै महाधिवेशन भव्य र सभ्यरूपमा सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ट्रेड युनियन कांग्रेसले महाधिवेशन सम्पन्न गर्न जनशक्ति परिचालनदेखि विविध सहयोग गर्न तयार रहेको जनाएको छ ।

नेपाल प्रेस युनियन मकवानपुर अध्यक्ष एवम् महाधिवेशन सचिवालय, मञ्च तथा स्वागत समिति संयोजक पोष्टराज अधिकारी (कुमार) को सभाध्यक्षतामा भएको कार्यक्रममा युनियन केन्द्रीय सदस्य एवम् महाधिवेशन समन्वय उपसमिति संयोजक राममणि दाहाल, आवास समिति संयोजक रूपेश दुलाल, भोजन समिति संयोजक सुजन बिडारी, ट्रेड युनियन कांग्रेस वागमती प्रदेश उपाध्यक्ष वीरेन्द्रकुमार लामा, मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठ, उपाध्यक्ष ठाकुरप्रसाद चौलागार्इं, शर्मिला श्रेष्ठ, काउन मकवानपुर अध्यक्ष खलिल मियाँ अन्सारी र उपाध्यक्ष इम्तियाज खानलगायतको सहभागिता थियो ।

महाधिवेशनको तयारीस्वरूप केही दिनअघि युनियनले समन्वय उपसमिति, सचिवालय, भोजन, आवास समिति संयोजक चयन गरिसकेको छ । महाधिवेशनमा युनियनका करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्