साइटेसन–२०२२ सम्पन्न


काठमाडौं । 

टोस्ट मास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरू सहभागी थिए ।

साइटेसनमा प्रसिद्ध अभिनेत्री मनीषा कोइराला कि–नोट स्पिकरको रूपमा रहनुभएको थियो । उहाँँ महिला अधिकार र महिला हिंसाविरुद्ध हुने अभियानलगायत अन्य सामाजिक कार्यहरूमा सक्रिय रूपमा सहभागि हुँदै आउनुभएको छ । २०१३ मा क्यान्सरको सफल उपचारपछि कोइरालाले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सरविरूद्ध लडिरहेका अन्य बिरामीहरूलाई हौसला दिन लागि पर्नुभएको छ ।

टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई ‘कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीलाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ । १६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गर्न सफल भएकि थिइन् । उनको संघर्षमा आधारित बायोपिक ‘ब्लाइन्ड रक्स’ सन् २०१८ मा विश्वव्यापी रूपमा प्रदर्शन भएको थियो ।

उनले भनिन्– ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्ट मास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टरहुने पनि निर्णय गरेको छु ।’उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका क्लबहरू समावेश रहेको डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर रञ्जित आचार्यज्युले भन्नुभयो– ‘यो एक ऐतिहासिक कार्यक्रम रहन गयो र उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका टोस्टमास्टरहरू एकै ठाउँँमा भेला हुने र आफ्नो पर्सनल नेटवर्क विस्तार गर्ने महत्वपूर्ण अवसर पनि थियो । यसले निश्चय नै सबै टोस्ट मास्टरहरूलाई एकअर्काको अझ नजिक ल्याउन मद्दत गरेको छ । नेपाल टोस्ट मास्टर्सको लागि यो गौरवको विषय हो । टोस्ट मास्टर्स इन्टरनेसनलकै सबैभन्दा ठूलो डिस्ट्रिक्टको नेतृत्व गर्न पाउँदा म गौरवान्वित महशुस गर्दछु । ’

‘साइटेसन २०२२ टोस्ट मास्टरहरूका लागि सबैभन्दा ठूलो भेला थियो र यो नेटवर्किङको लागि पनि सुनौलो अवसर थियो’, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्ट मास्टर सुमन शाक्यले भन्नुभयो– ‘हरेक दिन नयाँँ क्लबहरू खुल्दै छन् र हाल नेपालमा ५६ वटा टोस्ट मास्टर क्लब रहेका छन् । यो सँग–सँगै हाम्रा सदस्यहरू पनि निरन्तर बढ्दै गइरहेका छन् । यसैलाई ध्यानमा राखेर हामीले अहिले नेपाली भाषामा क्लब पनि खोलेका छौं । ’