बेमौसमी वर्षाले क्षति पुगेका कृषकलाई राहत



पाल्पा ।

गत असोज महिनाको अन्तिम साता परेको बेमौसमी वर्षाका कारण क्षति बेहोर्न बाध्य सय ९९ जना किसानले राहत पाउने भएका छन् । बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पु-याएका पाल्पाका किसानलाई जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले राहत रकम दिने निर्णय गरेको हो ।

समितिका अनुसार तिनाउ गाउँपालिकाका एक सय ८१ जना किसानले छ लाख २६ हजार एक सय ८० रुपियाँ राहत रकम पाएका छन् । यस्तै, तानसेनका ४० जना किसानले एक लाख ६५ हजार सात सय ३२ रुपियाँ, रैनादेवी छहराका एक सय ४२ जना किसानले चार लाख ८२ हजार नौँ सय छ रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

यस्तै, रम्भा गाउँपालिकाका ३७ जना किसानलाई एक साख तीन हजार ९० रुपियाँ, माथागढी गाउँपालिकाका एक सय किसानलाई चार लाख ४२ हजार नौँ सय ६ रुपियाँ, निस्दीका ८२ जना किसानलाई तीन लाख ३८ हजार छ सय ७० रूपियाँ राहत दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

पूर्वखोला गाउँपालिकाका दुई सय पाँच जना किसानले पाँच लाख ६७ हजार नौँ सय ७२ रुपियाँ, रामपुर नगरपालिकाका छ जना किसानले १६ हजार आठ सय १३ रूपियाँ, रिब्दीकोट गाउँपालिकाका ६४ जना किसानले एक लाख ७३ हजार आठ सय ९९ रुपियाँ र बगनासकाली गाउँपालिकाका ४२ जना किसानले दुई लाख ८७ हजार आठ सय ८९ रूपियाँ राहत दिने निर्णय भएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन समितिको बैठकले २०७८ कात्तिक महिनादेखि २०७८ चैत २२ गतेसम्म विपद्का घटनामा परी मृत्यु हुने दुई जनालाई तीन लाख रुपियाँ, घर क्षति भएका १३ परिवारलाई ७७ हजार रुपियाँ राहत रकम दिने निर्णय गरेको छ । यस्तै कोरोनाका कारण मृत्यु भएका नौँ परिवारलाई प्रतिपरिवार एक लाखका दरले नौँ लाख रुपियाँ, बाढी पहिरो प्रभावित २३ घरपरिवारलाई नौँ लाख १० हजार रकम राहत दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्