नेपाली कांग्रेस पाल्पामा जिम्मेवारी बाँडफाँड



पाल्पा । 

नेपाली कांग्रेस पाल्पाको बैठकले पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसको विधान–२०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको हो ।

जिल्ला कार्यसम्पादन समिति ३० सदस्यीय निर्माण गरिएको छ । सभापति श्रेष्ठकै संयोजकत्वमा १४ सदस्यीय जिल्ला संसदीय समिति, उपसभापति ज्ञानबहादुर गाहाको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति, उपसभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, सचिव सुनीता अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, सन्तोषकुमार थापाको संयोजकत्वमा ९ सदस्यीय सूचना तथा सञ्चार समिति, कोषाध्यक्ष मोहनप्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ ।

नेपाली कांग्रेस पाल्पाले पुरुषोत्तम अर्यालको संयोजकत्वमा अनुशासन समिति, विधानप्रसाद श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणापत्र तयारी समिति निर्माण गरिएको छ ।यस्तै, यमलाल तिमिल्सिनालाई अनुगमन समितिको जिम्मेवारी दिइएको छ । कांग्रेस पाल्पाले दुर्गा रायमाझीको संयोजकत्वमा सांस्कृतिक समिति बनाएको छ । तरुण दलका अध्यक्ष मेजरसिं केसीलाई युवा परिचालन समितिको जिम्मेवारी दिइएको छ ।
आशन्न निर्वाचन तथा जिल्लाको कार्यसम्पादनलाई चुस्तदुरुस्त बनाउन जिम्मेवारी बाँडिएको सूचना तथा सञ्चार समितिका संयोजक सन्तोषकुमार थापाले बताउनुभयो । यसै बीच, सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियन पाल्पासँग स्थानीय निर्वाचन र जिल्लाको सूचना व्यवस्थापनका विषयमा छलफल कार्यक्रम गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै प्रचार–प्रसार समितिका संयोजक झपेन्द्र गहिरेले निर्वाचन प्राविधिक विषय भएकाले हरेक विषयलाई गम्भीर रूपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । सोही अवसरमा पार्टीका प्रवक्ता शोभाकर न्यौपाने, क्षेत्रीय सभापति झमानराज मगर, नेपाल प्रेस युनियनका सभापति भरत शर्मा तथा केन्द्रीय सदस्य माधव अर्यालसहित अन्य पत्रकार तथा पार्टीका नेताहरुले निर्वाचनलाई व्यवस्थित र मर्यादित तवरबाट अगाडि बढ्ने वातावरण सिर्जना गर्न सबैको भूमिका अपरिहार्य रहेको बताउनुभएको थियो ।
स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा
कुनै बेला प्रतिबन्धित रहेको र आसन्न स्थानीय निर्वाचनमा भाग लिने नलिने विषयमा एकमत नभएको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका एक नेताले पाल्पामा स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने घोषणा गरेका छन् । पार्टीका पूर्वजिल्ला सचिव भुवन जिसीले तिनाउँ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।
विप्लव पार्टीबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा जिसीले पालिका अध्यक्षमा चुनावमा जाने घोषणा गर्नुभएको छ । तिनाउ गाउँपालिकाको दोभान बगाहामा स्थायी घर रहेका जिसी तत्कालीन नेपाली माओवादी जनयुद्धमा २०५८ सालमा क्रियाशील रहनुभएको थियो । उहाँ बुटवल बहुमुखी क्याम्पसको अखिल (क्रान्तिकारी) मा आबद्ध भई राजनीतिबाट पूर्णकालीन कार्यकर्ता भएर काम गर्दै आउनुभएको थियो ।
जिसीसहित तिनाउँ–२ वडामा टोपबहादुर विक, ३ नम्बर वडामा नीरबहादुर विक र ४ नम्बर वडामा गणेश रास्कोटीले वडाध्यक्षमा संयुक्त रूपमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै, १ नम्बर वडामा र ६ नम्बर वडाध्यक्षमा आकांक्षीहरु बढेपछि छलफलमा रहेको बताइएको छ । अन्य वडाहरुमा समेत विप्लव नेतृत्वका नेताहरुले स्वतन्त्र ढंगले चुनावमा जाने जिसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्