उम्मेदवारको लर्कोले एमालेलाई सास्ती



 हेटौंडा ।

वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडामा युवादेखि केन्द्रीय सदस्यसम्मका नेताले नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । सम्भावित उम्मेदवारको लर्कोले एमालेलाई सास्ती परेको देखिएको छ ।

प्रदेशको राजधानीसमेत रहेको उपमहानगरमा बहालवाला मेयरदेखि पार्टीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसमेत मेयर बन्ने दौडमा लागेका हुन् । यसअघिको चुनावमा समेत गठबन्धन गरेका कांगे स, माओवादीलगायत दलहरु यस वर्षको चुनावमा झनै कसिलो गठबन्धन गरेर चुनाबी मैदानमा उत्रन तयार छन् । एमालेसामु पहिलेभन्दा हाल चुनौती निकै छ । तर, एमालेबाट मेयरमा मात्र उम्मेदवारी दिने तयारीमा रहेका ९ जनामध्ये एकले अर्कालाई स्वीकार्ने पक्षमा छैनन् ।

स्थानीय तहको चुनावमा गठबन्धन तोड्ने उम्मेदवार मैदानमा उतार्ने भनिए पनि त्यसको प्रभावकारी तयारी भने पार्टीले गर्न बाँकी छ । एमाले हेटौंडा उपमहानगर कमिटीले ९ उम्मेदवारबाट घटाएर बढीमा महिलासहित ३ जनाको नाम जिल्ला र प्रदेश हुँदै केन्द्रमा पठाउनुपर्ने चुनौती छ । अब नगर कमिटीले उम्मेदवारबीच सहमति गराउने कि आन्तरिक प्रतिस्पर्धाका लागि चुनाव गराउने भन्ने अवस्था आएको छ ।

मेयरका लागि वर्तमान मेयर हरिबहादुर महतदेखि एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानासम्मले इच्छा व्यक्त गर्नुभएको छ । हेटाैंडाको मेयरका लागि एमाले जिल्ला कमिटी मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, गणेशकुमारी प्रधान, संगठित सदस्य बीके महर्जनले उम्मेदवार रहेको जानकारी गराउनुभएको छ । आफूलाई एमालेले उम्मेदवार बनाउँदा गठबन्धनलाई तोड्ने उहाँहरुको दाबी छ ।

उपमेयरका लागि सुमित्रा काफ्ले, सीता विष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले इच्छा व्यक्त गर्नुभएको छ । सर्वसम्मत उम्मेदवार छनोटका लागि उपमहानगर कमिटी लागिपरेको र त्यसको गृहकार्य भइरहेको उपमहानगर कमिटी सचिव बोलबहादुर कार्कीले बताउनुभयो ।

एमाले उपमहानगर कमिटीको बैठक मंगलबार दिउँसो फेरि बस्ने कार्कीले जानकारी दिनुभयो ।केन्द्रीय निर्देशनअनुसार हाल सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चाको बैठक बसे पनि उम्मेदवारको विषय टुंगिएको छैन । केन्द्रीय निर्देशनअनुसार तोकिएको समयभित्र उम्मेदवार टुंग्याइने र गठबन्धनको मोडालिटी तयार भएपछि गठबन्धनले सोहीअनुसार निर्णय गर्ने कांग्रेस जिल्ला सभापति तथा गठबन्धन संयोजक बुद्ध लामाले बताउनुभयो । वडा तहबाटै तालमेल गरेर अगाडि बढ्ने सहमति भएको उहाँले जनाउनुभएको छ । गठबन्धनले वडा तहबाटै गठबन्धन मतको अवस्था मूल्यांकन गरिरहेको छ । सोहीअनुसार उम्मेदवार खडा गर्ने सत्तारूढ गठबन्धनको दाबी छ ।

स्थानीय तह चुनावलाई लक्षित गर्दै मकवानपुरमा राजनीतिक गतिविधि निकै बढेको छ । जिल्लाका दशवटै स्थानीय तहमा चुनाव लक्षित राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । जिल्लाका स्थानीय तहमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीलगायत दलहरुले चुनावी गतिविधि बढाएका छन् ।

सम्भावित उम्मेदवार लिएर चुनावीसभा, गोष्ठीमा व्यस्त पनि देखिएका छन् । स्थानीय तहको चुनावमा पुराना र अनुभवी नेताहरुस“गै युवा पनि लागिपरेका छन् । मकवानपुरको स्थानीय तहका १ सय २ वडाबाट उम्मेदवार सिफारिस गर्दा युवाको सिफारिस पनि आएको नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।

एमालेबाट वडाध्यक्ष भइसकेका धेरै बहालवाला अध्यक्ष फेरि उम्मेदवार बन्न वडा तहबाट सिफारिस भएका छन् । सबै पार्टीका राजनीतिक गतिविधिमा युवा सक्रिय छन् । चुनावीसभा, सम्मेलन, गोष्ठीमा युवाहरु आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्