सत्ता गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताको अपिल


 काठमाडौं । 

स्थानीय तहमा चुनावी तालमेलको विषयमा विवाद कायमै रहिरहँदा सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सोमबार सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।

सत्ता गठबन्धनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्न आनाकानी गरेपछि शीर्ष नेताले अपिल जारी गर्दै गठबन्धनको भावनाअनुसार अगाडि बढ्न निर्देशन दिएका छन् ।पाँच दलका शीर्ष नेता प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सोमबार गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्नुभएको थियो ।

उक्त संयुक्त अपिलमा लोकतान्त्रिक परिवर्तनलाई उल्ट्याउने प्रयासका विरुद्ध एकताबद्ध भएर देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरी आपसी सहकार्य र सहयोगी भावनाले अघि बढ्न आह्वान गरिएको छ । अपिलमा स्थानीय तहको निर्वाचन सफल पार्न पाँच दलीय गठबन्धनका उमेदवारलाई मत दिएर विजयी बनाउन निर्देशन पनि दिइएको छ । अपिलमा भनिएको छ– ‘हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एक–अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं ।’

अपिलमा शीर्ष नेताहरूले परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिले परिवर्तनका विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेको भन्दै सचेत हुन जरुरी रहेको उल्लेख छ । देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास भएको स्पष्ट भएको अपिलमा दाबी गरिएको छ ।परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको बताउँदै अपिलमा पाँच दलले लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै संयुक्त अपिलमा नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने निर्णय लिइएको स्मरण गरिएको छ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबार बसेको गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेल गरेर अघि बढ्न स्थानीय पार्टी कमिटीलाई पुनः निर्देशन दिने निर्णय गरेको छ ।यसैबीच, सत्तारूढ पाँचदलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रमा दलहरूले ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताले महानगरको भागवण्डा प्रस्ताव गरेका हुन् । तीन दलले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगन्ज महानगर छाड्न प्रस्ताव गरेका छन् । ललितपुर र विराटनगर महानगरको नेतृत्वमा कांग्रेस छ भने भरतपुरमा माओवादी केन्द्र रहेको छ ।बैठकमा माओवादीका नेता देव गुरुङले २०७४ सालको निर्वाचनमा जुन पार्टीले नेतृत्वमा जितेको स्थानीय तहमा सोही पार्टीले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागवण्डा गर्न प्रस्ताव गर्नुभएको थियो । उहाँका अनुसार समग्र विषयमा मंगलवार पुनः शीर्ष नेताहरूकै उपस्थितिमा छलफल गर्ने सहमति भएको छ । गठबन्धनले तालमेल गरेर अघि बढ्न सहमत भएको प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा पठाउने म्याद ३० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुन पालिकामा जुन दलले जितेको छ, अहिले पनि त्यही दलले नेतृत्व लिने प्रस्तावमा सहमति जनाउनुभएको थियो । बैठकमा जसपाका वरिष्ठ नेता अशोक राई र रेणु यादवले भने सम्मानजनक एकतामा जोड दिनुभएको थियो ।तीन दलका नेताको प्रस्तावमा कांग्रेस महामन्त्री गगनकुमार थापाले भने केन्द्रबाट भागवण्डा गर्न खोजे दुर्घटना हुने बताउँदै तल्ला कमिटीमै छलफल गरेर सहमति खोज्नुपर्ने धारणा राख्नुभएको थियो ।