कोइरालासँग आयोगले माग्यो स्पष्टीकरण


काठमाडौं । 

निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । उहाँले गत निर्वाचनमा आफ्नो ६ करोड रुपियाँ खर्च भएको भन्दै अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले यस सम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै कोइरालालाई ७ दिनभित्र जवाफ पेस गर्न भनेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारेमा कांग्रेस नेता कोइरालालाई जवाफ पेस गर्न ध्यानाकर्षण गराइएको जानकारी दिनुभएको हो । बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेस गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपियाँ खर्च भएको देखिएको आयोगले जनाएको छ ।

गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारले २५ लाख रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो । कांग्रेस नेता कोइरालाले निर्वाचनमा उमेदवारको खर्च धेरै हुने भन्दै पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड रुपियाँ खर्च भएको बताउनुभएको थियो ।