विदेशी पर्यटकको संख्या बढ्दै, दैनिक २ हजार पुग्यो

0
Shares

काठमाडौं । 

कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिनुभएको छ ।

सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिँदै महानिर्देशक भट्टराईले नेपाल समाचारसँग भन्नुभयो– ‘अप्रिल ९ तारिखमा एकैदिन २ हजार ५ सय ९३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ ।’तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार ९ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त हुने अनुमान गर्न सकिने महानिर्देशक भट्टराईको बताउनुभयो ।विभागले तयार गरेको विगत चार वर्षको तथ्यांक हेर्दा नेपालमा सन् २०१९ देखि सन् २०२१ को सम्मको अवस्थाको तुलना गर्दा सन् २०१९ सबैभन्दा राम्रो रहेको थियो । त्यस वर्ष कुल ११ लाख ७५ हजार १५ जना विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०२० मा २ लाख ८ हजार ६ सय ७६ जना पर्यटक नेपालमा आएका थिए । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६४ विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ को संक्रमणका कारण सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या घटेको थियो ।

सन् २०१९ को जनवरी महिनामा ८१ हजार २ सय ६, सन् २०२० को जनवरीमा ८१ हजार १ सय ८५ र सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, सन् २०१९ को फेब्रुअरीमा १ लाख १ हजार ४ सय ४९, सन् २०२० मा ८४ हजार २ सय १, सन् २०२१ मा ९ हजार २ सय ६६ र सन् २०२२ मा १९ हजार ८ सय ५५ पर्यटक नेपाल आएका थिए । सन् २०१९ देखि २०२१ मा पर्यटकको संख्या घटे पनि सन् २०२२ मा १ सय १४ प्रतिशत बढेको छ ।

सन् २०१९ मार्चमा १ लाख २६ हजार ४ सय ५७, सन् २०२० मा ३ हजार ४ सय २४, सन् २०२१ मा १५ हजार ४ सय ५४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसै गरी, अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा सन् २०१९ मा ३७ हजार ९ सय ५, सन् २०२० मा १ हजार ३ सय ३१, सन् २०२१ मा ७ हजार ९ सय ६ र सन् २०२२ को सोही अवधिमा १९ हजार ७ सय २८ पर्यटक नेपाल आएका छन् । तीमध्ये यो महिनाको १० तारिखसम्म १ सय ४७ प्रतिशत वृद्धि भएको छ ।

नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेको छ । नेपाल आउने पर्यटकको सूचीमा दोस्रोमा अमेरिका, तेस्रोमा बेलायत, चौथोमा बंगलादेश र पाँचौंमा क्यानडा रहेको छ । महानिर्देशक भट्टराईका अनुसार रुस र युक्रेनबीच युद्धले युरोपेली मुलुकका पर्यटकको संख्या भने घट्न थालेको छ ।हरेक वर्ष अप्रिल महिनामा नेपाल आउने पर्यटकको संख्या वृद्धि भइरहेको महानिर्देशक भट्टराईको भनाइ छ । पर्यटकको संख्यामा वृद्धि भएसँगै मुख्य पर्यटकीय क्षेत्र काठमाडौं उपत्यका, जनकपुर, लुम्बिनी, सौराहा, पोखरा, बन्दीपुर, लमजुङ, नाम्चे ढोरपाटनलगायतका क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढ्न थालेको हो । यो समयमा पर्यटक विशेष गरी हिमाल आरोहण गर्न नेपाल आउने गरेका छन् ।