घरायसी विवादमा श्रीमतीको हत्या


न्युज अफ नेपाल, उदयपुर ।

उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाको हत्या भएको छ ।

सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ ।

बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।