सेवाग्राही घट्नुको कारण र असर


सरकारद्वारा दिनुपर्ने सम्पूर्ण सेवा–सुविधाका लागि सरकारी कार्यालयहरु खडा गरिएको छ । नेपालभरका जनता आफ्नो कामकाजका लागि सरकारी कार्यालय धाउने गर्दछन् ।

सरकारी कर्मचारीको ढिलासुस्तीका कारण यी कार्यालयमा सधैँ भीड हुन्छ । मालपोत कार्यालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा जहिले र जतिखेर पनि भीड देख्न सकिन्छ । पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको संख्या उल्लेखीय रुपमा बढेको छ । तर, तीन महिनाअघिसम्म एकदमै भीड हुने मालपोतको घरजग्गा र यातायात कार्यालयको सवारीसाधन नामसारी गर्ने फाँट सुनसान बनेको छ ।

नयाँ गाडी खरिद गर्ने सर्वसाधारणको संख्या स्वाट्टै घटेको छ । त्यस्तै, सेकेन्ड ह्यान्ड गाडीको किनबेच पनि सुस्ताएको छ । जनतासँग पैसा नभएर गाडी किनेबेच स्वाट्टै घटेको बुझिन्छ । यता, बैंक फाइनान्सले कर्जा नदिएर पनि खरिदबिक्री रोकिएको तथ्य लुकाएर लुक्दैन । नयाँ गाडी खरिदबिक्री रोकिएपछि राज्यको ढुकुटीमा राजस्व जम्मा हुन छाडेको छ । पहिले एउटा यातायात कार्यालयमा दैनिक सयवटासम्म गाडी खरिदबिक्री हुन्थे भने अहिले एक दर्जन खरिदबिक्री हुन पनि मुस्किल छ ।

यता, अटोशोरुम र रिकन्डिसनहरु साह्रो पिरमा परेका छन् । आफ्नो लगानी डुब्ने डरले उनीहरुको भोक–निद्रा हराइसकेको छ । व्यवसायी धराशायी नै बन्ने पो हो भन्ने आँकलन लगाउन थालिएको हो । यता, मालपोत र यातायात कार्यालयमा लेखनदास गर्नेहरु पनि बेरोजगार बनेका छन् । पहिले दैनिक पाँचदेखि २० हजारसम्म आम्दानी गर्ने लेखनदासहरुलाई अहिले चिया खाने पैसा जुटाउन पनि हम्मेहम्मे परेको छ । यातायात कार्यालय राजस्व उठ्ने क्षेत्र हो । तर, अहिले चार भागको एक भाग पनि राजस्व उठ्न छाडेको बताइन्छ । त्यसै गरी, मालपोतमा पनि उही नै स्थिति छ ।

तीन महिनाअघिसम्म घरजग्गा खरिदबिक्री गर्नेको भीड हुने मालपोत अहिले सुनसान बनेको देखिन्छ । अहिले बजारमा घरजग्गा बेच्ने मानिसको संख्या ठूलो भए पनि किन्ने भेटिँदैनन् । किन्ने नभएपछि मालपोत पनि ठप्प बनेको छ । जसको कारण चाप पनि घट्यो, राज्यले लिनुपर्ने राजस्व पनि घट्यो । पहिलेको तुलनामा मालपोतले निकै कम राजस्व उठाइरहेको छ । देशैभरिको मालपोतमा दैनिक लाखौं मानिसहरुले घरजग्गा नामसारी गर्थे । बेच्ने र खरिद गर्नेको संख्या कहिल्यै नघट्ने मालपोतमा अहिले दैनिक हजारवटा घरजग्गा पनि नामसारी हुँदैनन् ।

घरजग्गा खरिदबिक्रीमा मन्दी आउनुको पछाडि पनि वित्तीय संस्थाकै हात छ । बजारमा तरलताको अभाव भएपछि बैंक, फाइनान्सले कर्जा दिन छाडेका छन् । मालपोतका लेखनदासलाई समेत आफ्नो पेसा नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने चिन्ताले पिरोलिरहेको देखिन्छ । लेखनदास व्यवसायीहरुको कमाइ सुकेको छ । यता, हिजो महँगोमा दलालीसँग घर किन्नेहरुको रातको निद्रा हराएको छ । बैंकमा त्यही जग्गा धितो राखेर कर्जा लिई घर बनाउनेहरुको हालत त्यस्तै नाजुक छ । किनकि यतिखेर घरजग्गाको खरिदबिक्री सुस्ताएको छ भने बैंकको ब्याज त बढ्दै जान्छ ।

तीन महिना ब्याज तिर्न नसक्नेबित्तिकै बैंकले लिलाम गरिहाल्छ । निजी प्लेटको गाडीको ठ्याक्कै त्यस्तै बनेको छ । हिजो तीन लाख हालेर किनेको सवारी आज एकलाखमा पनि बिक्री हुँदैन । अनि अन्त्यमा बैंकले त्यसलाई पनि लिलाम गर्छ । अहिले जति पनि निजी प्लेटका सवारीसाधन छन् तीमध्ये ८० प्रतिशतले बैंक, फाइनान्सबाट कर्जा लिएर खरिद गरेको पाइन्छ । मुलुकभरका ७० प्रतिशत मानिसले बैंकबाट कर्जा लिएर घर बनाएका छन् । ३० प्रतिशतले मात्र आफ्नै लगानीले घरजग्गा खरिद गरेको पाइन्छ ।

वित्तीय संस्थामा भएको पैसा जनताको हो । तर, उसले ती रकमलाई सदुपयोग गर्न नसकेको प्रस्टै देखिन्छ । औद्योगिक क्षेत्रमा लगानी गर्नुको साटो घरजग्गा र निजी सवारीमा लगानी गरे । नाफा, सेवाशुल्क र बढी घूसको प्रलोभनमा पर्दा जनताको पैसा जोखिममा परेको छ । अन्ततः वित्तीय संस्थाको लगानी सखापै हुने अवस्था आउँदै छ भने राज्यको ढुकुटी पनि रित्तिँदै जान्छ । लगानी गरेको कर्जा उठाउन र धितो बिक्री गर्न सकेन् भने बैंक, फाइनान्स डुबिहाल्छन् । बैंक, फाइनान्स धराशायी बन्नु भनेको बचतकर्ता रोडमा आउनु हो । ब्याजको लोभमा परेर बचत गर्नेहरुको रकमको सुनिश्चितता छैन ।

आफ्नो रकम निकाल्नका लागि मानिसहरु दौडधूप गरिरहेका छन् । उनीहरुको भोक र तिर्खा नै गायब भइसकेको छ । कुन देशको अर्थतन्त्र कति बलियो छ, यसको जवाफ शेयरले दिइरहेको हुन्छ । शेयर खरिदबिक्रीलाई आधार मानेर अर्थविद्हरुले मुलुकको अर्थतन्त्रको स्थिति थाहा पाउँछन् । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बैंक र निजी कम्पनीले एकसय रुपियाँमा निकास गरेको शेयर पाँच सय र हजारमा नकिन्न सुझाएका थिए ।शेयरमा लगानी गर्नु भनेको जुवा खेलेसरह भएको उनको धारणा थियो । जुवा खेल्ने बानी लागेपछि घरजग्गा नै सिद्धिन बेर नलाग्ने र शेयर पनि उही नै भएको अर्थमन्त्री खतिवडाले बताएका थिए । जुनसुकै बेलामा शेयर लगानीकर्ता डुब्न सक्ने उनको भनाइ थियो । त्यसपछि शेयरको मूल्य घटेर गुन्द्रुकको भाउमा आएको थियो । अर्थमन्त्रीको कारणले शेयरको मूल्य घट्यो भनेर लगानीकर्ताहरु आन्दोलित बने ।

केपी ओलीसामु अर्थमन्त्रीको राजीनामा मागसमेत भएको थियो । अर्थमन्त्री खतिवडा हुँदा दैनिक सात करोडसम्म शेयर खरिदबिक्री हुन्थ्यो । अर्थमन्त्रीको पदबाट युवराज खतिवडा हट्नेबित्तिकै एकदिनमा अर्बौंको शेयर किनबेच भयो । तर, अहिले फेरि पनि शेयरको मूल्य गुन्द्रुकको भाउमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रलाई सन्तुलित राख्न नसकेपछि शेयरको खरिदबिक्री घटेको हो । बैंक, फाइनान्स नै टाट पल्टिएपछि शेयरमा लगानी गर्ने कुरै रहेन ।

सरकारले जनतालाई विश्वास दिलाउन नसक्दा तरलता थप बढेको हो । बैंक, फाइनान्सले पछिल्लो समय ब्याज बढाए पनि पैसा लगेर राख्नेको संख्या ह्वात्तै घटेको छ । आफ्नो जीवनभरको कमाइ डुब्ने डरले ब्याजको प्रलोभनमा जनता परेनन् । अहिले बैंकले १४ प्रतिशत, सहकारीले १८ प्रतिशत ब्याज दिन्छु भन्दा पनि पैसा जम्मा गरेका छैनन् । ब्याजको लोभमा साउँ नै गुम्ने पो हो कि भन्ने डर सबैको मनमा परेको छ ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले बजारमा देखिएको तरलता कसरी कम गर्ने भनेर गृहकार्य गर्न थालिसकेका छन् । यता, जनताले आफ्नो घरमा लुकाएर राखेको पैसा बैंकसम्म ल्याउन पनि यी दुई निकाय लागिपरेका छन् ।

त्यस्तै, हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउन लागेको कुरा पनि सुन्नमा आउन थालिसकेको छ । मुलुकमा बढ्दो तरलता र व्यापार घाटाका कारण खाद्य संकट हुने देखिएको छ । रुस र युक्रेनमा युद्ध चल्दा नेपाली बजार उथुलपुथल बनेको छ । पेट्रोलियम पदार्थको हाहाकार देखिन थालिसकेको छ । यस्तै पाराले नेपालको स्थिति पनि श्रीलंकाजस्तो नरहला भन्न सकिँदैन । चामल, दाल, तरकारीसमेतमा नेपाल आत्मनिर्भर छैन । जसको कारण नेपालमा भोकमरी आउन सक्छ ।

तत्कालै खर्च कटौती गर्ने हो भने देश बच्न सक्छ । उच्च ओहोदामा बसेकाहरुले राष्ट्रका निम्ति सोचिदिने हो भने फेरि पनि अर्थतन्त्र तङ्ग्रिन सक्छ । अझै पनि विदेशी ऋण लिएर तलबभत्ता खान नरोके देश नै सखाप हुन्छ । भोकमरी लाग्छ, लुटपाट शुरु हुन्छ । अरु देशले पठाएका खानेकुराले नेपाल धानेको छ । अरुमा आश्रित भएको मुलुकमा जुनै पनि बेला संकट निम्तिन सक्छ । ग्यास, पेट्रोल र मट्टीतेलको हाहाकार शुरु भइसकेको छ । केही दिनपछि खाद्यमा कालोबजारी शुरु हुन्छ । एकातिर जनताले राज्यलाई कर तिर्दैनन्, अर्कोतिर व्यापार घाटा प्रत्येक दिन बढ्दै जान्छ । छिमेकीहरुले यसको फाइदा उठाउँदै सामान कम पठाउँछन् । यसमा जनता पनि चनाखो हुनुप-यो ।
– अनुसा थापा, भक्तपुर