नगर अध्यक्ष पराजित, निर्विकल्प भएनन् सचिव

एमालेमा सिफारिस

0
Shares

हेटौंडा । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले हेटौंडा उपमहानगरमा उम्मेदवार चयन गर्दा रस्साकस्सी देखिएको छ । केही वडामा सर्वसम्मत रूपमा उम्मेदवार छनौट भए पनि पार्टीका नगर अध्यक्ष र सचिवजस्ता नेताहरु वडामै निर्विकल्प बन्न नसकेको छैन ।
एमाले हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी वडा नम्बर–११ मा पराजित भएका छन् ।

वडाध्यक्षको उम्मेदवार चयन प्रक्रियामा अध्यक्ष नै पराजित हु“दा दीपक शिवाकोटी, रामचन्द्र न्यौपाने र जुना दाहाल चयन हुनुभएको छ । उक्त वडा एमालेले भन्ने गरेको वागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र एमाले केन्द्रीय सदस्य-मकवानपुर इन्चार्ज रामेश्वर रानाको वडा हो ।

आफ्नै वडामा पौडेल र रानाले उम्मेदवार सर्वसम्मत गराउन सक्नुभएन । वडाध्यक्ष गोकर्ण पराजुली मैदानबाहिर भएको अवस्थामा वडा सदस्यमा खुलातर्फ अक्कलबहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गरिएको छ ।हेटौंडाको वडा नम्बर १ मा पुराना नेता उत्तमप्रसाद पौडेल सर्वसम्मत उम्मेदवार हुनुभएको छ । वडा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठको वडा हो । सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिलामा मनु दाहाल र दलित महिलामा ईश्वरी रसाइलीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । रसाइली र स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

वडा नम्बर–२ बाट वर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्मेदवार बन्नुहुने भएको छ । दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी खुला वडा सदस्य र महिला सदस्यहरुमा भने ८ जनालाई सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावती पनेरु, सीता तिमल्सिना र अञ्जु अधिकारी हुनुहुन्छ । हेटौंडा–३ मा बहालवाला वडाध्यक्ष रामकुमार पुडासैनीसँगै परिश्रम बिडारीको नाम सिफारिस भएको छ ।वडा नम्बर ४ मा एमाले मकवानपुर सचिव एवं बहालवाला वडाध्यक्ष नवीन सिग्देललाई सिफारिस गरिएको छ । वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरिएको छ । सिग्देल र श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने हुनुभएको छ ।

हेटौंडा–५ को वडाध्यक्षमा सुशील घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको छ । ईश्वर ढुंगाना र ज्ञानु थापाको रहरमात्र रह्यो । उक्त वडा मेयर हरिबहादुर महतको वडा हो । सदस्यमा थापा, रामबहादुर राई, भगवती विक र रञ्जिता सिलवालको नाम सिफारिस भएको छ । थापा र विक दोहोरिनुभएको हो ।

हेटौंडा–६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस हुनुभएको छ । उक्त वडामा राप्रपा नेपाललाई दिनुपरे राप्रपा मकवानपुर अध्यक्ष गुरु सापकोटा उम्मेदवार हुने निश्चित छ । ७ नम्बर वडा कमिटीले बहालवाला अध्यक्ष राजन थापालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना विक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत हुनुभएको छ । रिमाल जिल्ला समन्वय समिति सदस्य हुनुहुन्छ ।

हेटौंडा–८ को अध्यक्षमा एमालेले बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेललाई सिफारिस गरेको छ । कार्की, एमाले हेटौंडा उपमहानगर सचिव हुनुहुन्छ । नगर सचिव आफ्नै वडामा सर्वसम्मत हुन सक्नुभएन । वडा सदस्य खुलामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हु“दा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशीला मल्ल र सुमित्रा पाण्डे सिफारिस हुनुभएको छ ।

दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफारिस हुनुभएको छ । वडा सदस्यमा झर्नुभएका वडाध्यक्ष गोपाल श्रेष्ठ पनि जिल्ला समन्वय समितिमा दाबी गर्नेमा हुनुहुन्छ ।एमालेले वडा नम्बर–९ मा नरेन्द्र भण्डारीसहित ३ जनाको नाम अध्यक्षमा सिफारिस गरेको छ । भण्डारीसँगै बहालवाला वडाअध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गरिएको छ । २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस भएको छ ।

खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टीकाप्रसाद भट्टराई र सीताराम पौडेलको नाम सिफारिस भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली बहालवाला वडा सदस्य हुनुहुन्छ । त्यहाँ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) ले शुकराम केसीलाई उम्मेदवार बनाउने सम्भावना छ ।

एमालेले हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको छ । हेटौंडा–१३ मा नेकपा एमालेले वडाध्यक्षमा पेम्बा लामालाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा आशिष थापा, बुद्ध गोले, विष्णुमाया परियार र विष्णुमाया थिङ सर्वसम्मत रूपमा सिफारिस हुनुभएको छ ।

वडा नम्बर १४ मा वर्तमान वडाध्यक्ष तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य दीपक खड्कालाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का, नेकपा माओवादी छाडेर एमालेमा जानुभएको हो । हेटौंडा–१५ को अध्यक्षमा सुनील मोक्तानलाई उम्मेदवार सिफारिस भएको छ । सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलिततर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंहबहादुर लोलाई उम्मेदवार सिफारिस गरिएको छ । मुक्तान, अघिल्लो निर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेससँग पराजित हुनुभएको हो ।
हेटौंडा–१६ मा वसन्तप्रसाद लामिछानेलाई वडाध्यक्ष सिफारिस भएको छ ।

सदस्यमा खुलातर्फ राजेन्द्र गरञ्जा र कृष्णबहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा विश्वकर्मा र महिलातर्फ अस्मिता भुसाललाई उम्मेदवार बनाउने निर्णय भएको छ । वडा–१७ मा पनि बहालवाला वडाध्यक्ष भैरव राई सर्वसम्मत हुनुभएन । अर्का आकांक्षीको पनि नाम सिफारिस भएको छ ।हेटौंडा–१८ मा अनिलकुमार बानियाँलाई उम्मेदवार बनाइएको छ । बहालवाला वडाध्यक्ष बानियाँलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

सदस्यमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुइँकेल र दलित महिला सदस्यमा पूजा मग्रातीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको छ ।हेटौंडा–१९ मा अध्यक्षका लागि ३ आकांक्षीको नाम सिफारिस भएको छ । बहालवाला वडाध्यक्ष नरनाथ सुवेदी, रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस भएको हो । सदस्यमा दलित महिलामा शान्ति विक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस हुनुभएको छ ।

दुई जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ ।विश्राम लिनेमा ११ नम्बर वडाध्यक्ष गोकर्ण पराजुली हुनुहुन्छ भने ८ नम्बर वडाध्यक्ष गोपाल श्रेष्ठले दुईपटक वडाध्यक्ष भएको अनुभव कायम राख्न वडा सदस्य हुँदै जिल्ला समन्वय समितिमा नेतृत्व लिन घटुवा भएको दाबी गरिएको छ ।