तेस्रो लघुवित्त सम्मेलन आजबाट


काठमाडौं ।

लघुवित्त क्षेत्रमा क्रियाशील संस्था र त्यसका पदाधिकारीहरूको तेस्रो राष्ट्रिय सम्मेलन आज सोमबारदेखि काठमाडौंमा हुने भएको छ । दुईदिने सम्मेलनबाट मुलुकमा लघुवित्त क्षेत्रको काम र समस्याको प्रष्ट चित्र आउने आयोजक स्वाव्लम्बन विकास केन्द्रले जनाएको छ ।

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजनामा केन्द्रले संयोजन गर्ने भएको हो । सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २ सय संस्थाहरूबाट ६ सय जना सदस्य तथा संस्थाका प्रतिनिधिको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।मुलुकभर रहेका ७९ वटा लघुवित्त वित्तीय संस्था र १ सय ५० वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी हुने केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार लघुवित्त वित्तीय संस्थाले ४ खर्व सय ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन । जसमध्ये ३ खर्व ७१ अर्ब रुपैयाँ खुद्रा र ६९ अर्ब रुपैयाँ थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरूले लगानी गरेको बताइएको छ ।करिब ५४ लाख ५० हजार महिला तथा १ लाख ५० हजार पुरुषहरूले यो सेवा प्राप्त गरेका छन् । मुलुकभर ४ हजार ९ सय ६५ शाखामार्फत २३ हजार २ सय ८१ लघुवित्तकर्मी सेवामा संलग्न रहेको दाबी संस्थाको छ ।

केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट मुलुकभरका दुर्गम तथा विकट जिल्लाका बासिन्दाको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु-याउँदै आएको उल्लेख गरेको छ ।बैंकिङ सुविधाबाट वञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरू, खासगरी महिलाहरूलाई स्वावलम्बन बैंकिङ कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै जनाएको छ ।

केन्द्रले लघुवित्त क्षेत्रलाई सुदृढीकरण गर्ने आफ्नो कार्ययोजना विस्तार गर्दै विभिन्न विकास बैंक, लघुवित्त विकास बैंक, सहकारी संस्था एवं वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था तथा ‘क’ वर्गका बैंकलाई लक्षित गरी समय समयमा तालिम प्रदान गर्दै आइरहेको छ ।
लघुवित्त क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र विकृतिहरूलाई मध्यनजर गर्दै सोही सम्बन्धमा लघुवित्त क्षेत्रका सरोकारवालाहरूसँग वार्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।