वागमती नदी बचाउन २७ वर्षमा १५ अर्ब खर्च

0
Shares

काठमाडौं । 

मानवीय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकासमा २७ वर्र्षमा १५ अर्ब रुपैयाँ खर्च भएको छ । नदी क्षेत्रमा देखिएको फोहोर व्यवस्थापन गर्न ढल निकासदेखि सौन्दर्यकरणको काममा उक्त बजेट खर्च भएको हो ।

बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उद्देश्यसहित शुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट नदी आसपासको क्षेत्रमा पूर्वाधार निर्माणको काम हुँदै आएको छ । नदीलाई सफा बनाउन ५ जेठ २०७७ देखि निरन्तर रुपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । बागमती नदी सरसफाइ अभियान ४६५औ हप्ता पूरा गरेको छ ।

समितिले बागमती नदीको बीसवर्र्षे कार्ययोजना तयार पर्ने कामलाई अघि बढाएको छ । कार्ययोजना यस आर्थिक वर्षभित्र नै सम्पन्न हुने भएको छ । यसअघि तयार पारिएको पाँचववर्ष कार्ययोजनाबाट पाठ सिक्दै नदीको संरक्षण र विकास गर्नका लागि नयाँ योजना बनाउन लागेको हो ।

कार्ययोजनाबाट हालसम्मको उपलब्धि र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना अघि सारिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल बताउनुहुन्छ । उहाँले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताउनुभयो ।

‘प्रत्येक वर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा लक्ष्यअनुसारको काम हुन सकेको छैन’, उहाँले भन्नुभयो– ‘कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा भएका छन् ।’ नदीको मापदण्ड कायम गर्ने, बहाव क्षेत्र निर्धारण गर्ने नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने गरी समितिले काम गरिरहेको प्याकुरेलले बताउनुभयो ।

समितिले सुन्दरीजलदेखि गुह्येश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ । नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस वर्षबाट वर्षाको समयमा पानी संकलन गर्ने भएको छ । समितिमार्फत बागमती नदी र यसका सहायक नदीहरुमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर कोरिडार सडक र ९० किलोमिटर ढलको पाइन बिच्छ्याउने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

जसअन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६-१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल बिच्छ्याउने काम सम्पन्न भएको छ । त्यसै गरी गोकर्णदेखि गुह्येश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भइरहेको छ ।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले काठमाडौं उपत्यकामा बढ्दा ट्राफिक जाम घटाउने गरी बागमती नदीसहित अन्य सहायक खोलामा कोरिडोर निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नदीको सभ्यता र पहिचान जोगाउने गरी सरसफाइ ढल निकास साथसाथै सौन्दर्यकरणको काम गरिरहेका छौं ।’

समितिले निजी क्षेत्रसहितको सहभागिता नदी किनारामा ३१ वटा हरियाली प्रवद्र्धन तथा उद्यानहरु निर्माण गर्नुका साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम यसै वर्र्षभित्र सम्पन्न गर्ने गरी काम गरिरहेको छ । हाल गोकर्णदेखि गुह्येश्वरी, तिलगंगा क्षेत्र, यूएनपार्कदेखि बल्खु पुलसम्मको क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बागमती नदी क्षेत्रमा अधिकांश स्थानमा कोरिडार निर्माणको काम सम्पन्न भएको बताउनुभयो । नदी किनारामा रहेको अस्थायी बसोबासका कारण केही क्षेत्रमा कोरिडोर निर्माणको काम हुन नसकेको उहाँको भनाइ छ । बागमती नदीको मुहान बाग्द्वारदेखि चोभारसम्म ४४ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।