‘नेपालमा गरिने अनुसन्धान फितलो छ’

0
Shares

काठमाडौं ।

नेपालमा स्वास्थ्य विज्ञानका क्षेत्रमा भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन काठमाडौंमा शुरु भएको छ ।सम्मेलनमा नेपालमा अनुसन्धानका नाममा सम्झौता हुन्छ तर ७५ प्रतिशत बजेट भने जताबाट आयो उतै फर्कने गरेको राष्ट्रिय योजना आयोगका सहसचिव डा. वासुदेव शर्माले बताउनुभयो ।

उहाँले हाल नेपालमा अनुसन्धानका नाममा ५६ वटा विकास साझेदारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गलानी गरिरहेको बताउनुभयो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन शुरु भएको छ । उक्त सम्मेलनमा बोल्दै डा. शर्माले उक्त कुरा राख्नुभएको हो ।

उहाँले नेपालमा गरिएको अनुसन्धानको ठोस नतिजा आउनै नसकेको कुरा औंल्याउनुभयो । ‘विश्वले उत्पादनको थोरै रकम अनुसन्धानमा खर्च गरे पनि परिणाम निकाल्छन् नेपालमा भने अनुसन्धानको नाममा पूर्वाधार निर्माण गर्ने कार्यमै प्राथमिकता दिने गरेका कारण परिणाम शून्य भएको छ ।’ –उहाँले भन्नुभयो ।

यति मात्र नभई ‘जीडीपीको यति प्रतिशत रकम विकासका लागि चाहियो मात्रै भनिन्छ, कुनै पनि निकायले हालसम्म अनुसन्धानका लागि यति बजेट चाहियो भनेर भनेका छैनन्,’ उहाँले भन्नुभयो– ‘तथ्य र प्रमाण अनुसन्धानबाटै आउँछन्, तर कुनै अनुसन्धान नहुने गरेकाले आएका योजना तथ्यअनुरूप छन् कि छैनन् ?’

नेपालमा आर्थिक मन्दीको संकेत देखिइरहेको अवस्थालाई औंल्याउँदै हाल नेपाल श्रीलंकाजस्तै हुन लागेको भन्ने गरिए पनि त्यो कुनै तथ्यअनुसार नभनिएको उहाँले दाबी गर्दै अनुसन्धान र तथ्यपरक सामग्री मिडियालाई दिनु राज्यको दायित्व भएकोे प्रस्ट्याउनुभयो ।

राष्ट्रिय अनुसन्धान प्रतिष्ठान बनाउन भनेर प्रस्ताव तयार भए पनि कस्तो मानिसले त्यसको नेतृत्व गर्ने भनेर तय नहुँदा प्रस्ताव नै धेरैपटक फेर्नुपरेको समेत उहाँले बताउनुभयो । हाल नेपालमा विभिन्न मन्त्रालयअन्तर्गत अनुसन्धान हुने भए पनि ती सबै आ–आफ्ना स्वार्थअनुसार हुने गरेको र व्यवस्थित नभएको सम्मेलनमा सहभागीले औंल्याए ।