उम्मेदवार छान्न समाजवादीले बनायो ८ बुँदे मापदण्ड

चुनावी कमान्डमा अध्यक्ष नेपाललाई जिम्मेवारी

0
Shares

काठमाडौं । 

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटका लागि ८ बुँदे मापदण्ड तय गरेको छ । समाजवादीले स्थानीय तह निर्वाचनमा टिकट पाउनेका लागि मापदण्ड तय गरेको हो ।

शनिबार र आइतबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार सिफारिस एवं छनोटका लागि मापदण्ड टुंगो लगाएको महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय रहेको, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती रहेको, कार्यक्षमता राम्रो भएको र समावेशितालाई ध्यान दिने मापदण्ड तय गरिएको छ ।
एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । भुसालले स्थानीय निर्वाचन घोषणापत्र मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको बताउनुभयो ।

बैठकले १ हजार १ सय ११ जनाको निर्वाचन परिचालन कमिटीसमेत गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनैवटा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरू, जनसंठनका केन्द्रीय पदाधिकारीहरुसमेत रहेकोे मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालयसमेत गठन गरेको छ ।

बैठकले सिफारिस एवं निर्णय प्रक्रिया निर्धारणबारे पनि निर्णय गरेको महासचिव भुसालले जानकारी दिनुभयो । वडा सदस्यका लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्ने, वडाध्यक्षका लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने भएको छ ।

त्यसै गरी, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि पार्टीको पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने एवं कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गरिने भएको छ । बैठकले गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गर्ने र अन्य दललाई परेका स्थानमा पार्टीका उम्मेदवार नरहने निर्णय गरेको छ ।