सशस्त्र प्रहरीलाई १० हजार हतियार हस्तान्तरण


काठमाडौं । 

नेपाली सेनाले सशस्त्र प्रहरी बललाई १० हजार आधुनिक हतियार हस्तान्तरण प्रक्रिया शुरु गरेको छ । नेपाल सरकारको बिहीबार बसेको बैठकले नेपाली सेनाले प्रयोग गर्दै आएको उक्त हतियार सशस्त्र प्रहरी बललाई हस्तान्तरण गर्न सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल इन्सास राइफल ९ हजार तथा लाइट सर्पोट वेपन (एलएसडब्ल्यू) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियारमध्ये आइतबार पहिलो चरणमा इन्सास ५ सय तथा लाइट सपोर्ट वेपन ९० नाल हस्तारण गर्नुभएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपरथीअशोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्णप्रसाद ढकाल र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनाले हतियार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त हतियार रक्षा सचिव किरणराज शर्मा तथा गृह सचिव टेकनाराण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथीबालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोजप्रताप राणा तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतको उपस्थिति रहेको थियो ।