दोलखा हुँदै पशुपति क्षेत्र पुग्यो हरिसिद्धि नाच

0
Shares

 दोलखा ।

ललितपुरबाट धुलिखेल हुँदै दोलखा आएको हरिसिद्धि (जलद्यो) नाच शुक्रबारबाट पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ । प्रत्येक १२ वर्षमा प्रर्दर्शन गरिने ५ सय वर्षभन्दा पुरानो हरिसिद्धि नाच दोलखामा तीन दिनसम्म प्रदर्शन गरिएको थियो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठका अनुसार यो नाच दोलखामा झण्डै १ सय ६० वर्षपछि प्रदर्शन गरिएको हो । काठमाडौं पुगेको यो नाच पशुपति क्षेत्रमा आइतबारसम्म प्रदशन गरिने छ । हरिसिद्धि नाचको प्रदर्शन कहिलेदेखि शुरु भयो भन्ने यकिन तथ्य भने भेटिएको छैन ।
यो नाच चक्रवर्ती राजा विक्रमादित्यले भारतवर्षमा शुरु गरेको मानिन्छ । राजा विक्रमादित्यले शुरु गरेकाको यो नाच उहाँकै पालोमा बन्द भएको थियो । पछि विक्रम संवत् ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइएको संस्कृतका ज्ञाता मुकुन्दराज वैद्य बताउनुहुन्छ ।

विक्रम संवत् १५६० मा मल्लकालीन राजा महेन्द्र मल्लले ९ वटा मुकुट थपेर ललितपुर र पशुपतिसहित उपत्यका बाहिर पनौती, धुलिखेललगायतका ठाउँमा समेत यो नाचको प्रदर्शन गर्ने परम्परा चलाएको तथ्य भेटिएको छ । यो हरिसिद्धि देवीको जात्रा नेपालकै पहिलो मुकुट जात्रा मानिन्छ ।दोलखाका शहरमा भने विक्रम संवत् १६१६ मा ल्याइएको देवमाला वंशावलीमा उल्लेख भएको अमेरीकी शोधकर्ता डा. लिन्डा इल्टीले उल्लेख गरेका छन् । उहाँले २०४२ सालमा प्रकाशन गरेको एक लेखमा दोलखाका शहरमा समेत हरिसिद्धि नाच प्रदर्शन हुने गरेको कुरा उल्लेख गरेका हुन् ।

डा. लिन्डाको लेखकै आधारमा हरिसिद्धि नाचका देवगणसहित स्थानीयले खोजी गर्दा दोलखा शहरको तल्लो टोलमा नाच देखाउने हरिसिद्धि डबली भेटिएको हरिसिद्धि नाच प्रदर्शन व्यवस्थापन गर्न बनेको स्थानीय समितिका संयोजक प्रवीण प्रधानले बताउनुभयो । डबलीसँगै हरिसिद्धि देवीको मन्दिरसमेत रहेको छ । उक्त डबलीमा दशैंजस्ता पर्वहरुमा कार्यक्रम हुने गरेको भए पनि हरिसिद्धि नाच प्रदर्शन गरिने डबली भएको कुरा भने स्थानीयलाई थाहा नभएको उहाँको कथन छ ।

हरिसिद्धि नाच दोलखामा कहिलेसम्म प्रदर्शन गरिएको थियो र बीचमा किन बन्द भयो भन्ने विषयको खोजी गरिने नाच प्रदर्शनको स्थानीय समितिको आर्थिक संयोजकसमेत रहनुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनुभयो । ललितपुर महानगरपालिका वडा नम्बर २८ बाट धुलिखेल हुँदै दोलखा आएर पशुपति क्षेत्र पुगेको हरिसिद्धि नाच प्रदर्शन टिममा करिब १ सय देवगण सहभागी रहेको स्थानीय शान्त श्रेष्ठले जानकारी दिनुभयो ।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भर बहादुर केसी १२ वर्षमा एकपटक प्रदर्शन गरिने प्रसिद्ध हरिसिद्धि नाच दोलखामा पनि ल्याइन्थ्यो भन्ने तथ्यले दोलखाको ऐतिहासिकतालाई थप पुष्टि गरेको बताउनुहुन्छ । यसले ललितपुर, धुलिखेल, दोलखालगायतका ठाउँहरु बीच संस्कृति आदान–प्रदानमा समेत सहयोग पुग्ने नगरप्रमुख उहाँको भनाइ छ ।