एकल पुरुषलाई मासिक भत्ता



 तेह्रथुम ।

विपन्न तथा सहाराविहीन एकल पुरुषलाई राज्यले सामाजिक सुरक्षा भत्ताका लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन शुरु गरेको छ ।

पालिकाले ६० वर्षमाथिका एक पुरुषलाई मासिक भत्तासहित सम्मान गरेको छ । आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान्को मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ । हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोहीअनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपांग तथा एकल महिलाले सेवा लिँदै आएका छन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिन शुरु गरेको हो । थोरै भए पनि भत्ता पाउँदा राज्यले एकल पुरुषलाई राज्यले सम्बोधन गरेको छथर गाउँपालिका–१ का मनीकुमार लिम्बुले बताउनु भयो । ‘हामी एकल हुँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनौं । स्थानीय सरकार आएपछि हामी जस्ता एकल पुरुषलाई वार्षिकरूपमा भए पनि भत्ता दिन शुरु गरेकोमा खुसी छौं ।’ –उहाँले भन्नुभयो ।

गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषको तथ्यांक संकलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बीच ६२ जना एकल पुरुषलाई सम्मानपत्र सहित १२ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले बताउनुभयो ।

विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । लोकप्रियताको लागि नभई राज्य भएको प्रत्युत्तर दिने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । ‘ज्येष्ठ नागरिकका सारथिको रूपमा स्थानीय सरकार भएको अनुभूति दिलाउन पनि यो कार्यक्रम ल्याइएको हो ।’ –उहाँको कथन छ ।
केन्द्र सरकारले ६० वर्षमाथिका दलित तथा एकल महिलाको हकमा र ज्येष्ठ नागरिकको हकमा ७० वर्ष पूरा भएपछि मात्रै सामाजिक सुरक्षा भक्त दिँदै आएको बेला छथर गाउँपालिकाले नेपाल इतिहासमा पहिलोपटक एकल पुरुष भत्ता कार्यक्रम ल्याएको १ नम्बर प्रदेश सांसद लछुमन तिवारीले बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्