‘कृषिमा उत्पादन बढाउन र लागत घटाउन जरुरी’


बुटवल ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले कृषि उत्पादन बढाउन र लागत घटाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा रूपन्देहीको समन्वयमा बुटवलमा आयोजना गरिएको विकासका लागि सूचना तथा सञ्चार प्रविधि परीक्षण कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभएको हो ।

तीनै तहका सरकारले कृषिमा लगानी गरे पनि त्यसको प्रतिफल पाउन नसकेको शर्माको कथन छ । उहाँले कृषि उत्पादनमा लागत घटाउन सकिएन भने आयात अझै बढ्दै जाने बताउनुभयो ।कार्यक्रममा कृषिको बारेमा जानकारीमूलक ‘कृषि पथ’ एप्लिकेसनको बारेमा जानकारीसमेत गराइएको थियो । केयर नेपालको सहयोगमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले उक्त एप्लिकेसन सञ्चालनमा ल्याएको हो । घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुसालले किसान, व्यापारी र उपभोक्तालाई एउटै एप्लिकेसनमा जोड्ने गरी ‘कृषि पथ’ एप्लिकेसन निर्माण गरिएको जानकारी गराउनुभएको थियो ।

नेपालमा करिब ९७ प्रतिशत टेलीफोन मोबाइल प्रयोगकर्ता रहेको, करिव ७४ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको र करिब ४० प्रतिशत जनसंख्या दुवै मोबाइल र इन्टरनेटको पहुँचमा रहेकाले यो सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।यसले कृषि क्यालेन्डर, बीउबिजन र कृषि सामग्रीको मूल्य, उत्पादन, सेवा वा सामग्री खरिद, मौसम पूर्वानुमान, कृषि उत्पादनको मूल्य, उत्पादन, कृषि हाटबजारलगायतका विषयवस्तुमा जानकारी दिनेछ ।त्यस्तै, इन्टरनेटको पहुँचमा नभएकालाई लक्षित गरेर टोल फ्रि नम्बर समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो ।यो एप्लिकेसन शुरु भएको साढे १ वर्षजति भयो भने यो अवधिमा १ करोड १० लाख रुपियाँ बढीको कारोवार भएको घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले बताउनुभयो ।

उहाँका अनुसार यो एप्लिकेशन चारपटक संशोधन गरिसकिएको छ ।त्यस्तै, यो एप्लिकेसनमा १ हजार १ सय किसान जोडिएका छन् । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य कनैयालाल कसौधनले भारतमा सरकार कृषि उत्पादनमन लागत घटाउने काममा क्रियाशील रहेको र नेपालमा सरकारले ध्यान नदिँदा किसानले उत्पादन गरेका वस्तुमा उत्पादन लागत उठाउन नसक्ने स्थितिमा रहेको बताउनुभयो ।

महासंघकी कार्यवाहक प्रदेश अध्यक्ष शान्ता शर्माले एप्लिकेसनको प्रयोगले किसान, उपभोक्ता र व्यापारी तीनै पक्षले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पछिल्लो समय अनलाइन मार्केटिङको विकास भए पनि गुणस्तरमा विश्वास गुमाउँदै गएकाले गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।