फोहोर व्यवस्थापन नहुँदा प्रदूषणको चपेटामा स्थानीय

0
Shares

पाल्पा ।

जिल्ला सदरमुकाम तानसेनबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा यसको मारमा स्थानीय परेका छन् । यहाँबाट निस्कने फोहोर तानसेन–तम्घास सडक खण्ड नजिकै वनदेवी वनक्षेत्रमा फाल्ने गरिएको छ ।

जसले त्यो क्षेत्रमा फोहोर हुने मात्र होइन त्यसको उचित व्यवस्थापन नहुँदा दुर्गन्धित हुने र वनमा आगलागी समेत हुने गरेको छ । यही क्षेत्रबाट दैनिक सयौं सवारीसाधन गुड्ने र सवारीसाधनका यात्रुले दुर्गन्धको मार व्येहोर्नुपरको छ भने फोहर यत्रतत्र छरिने र वर्षात्का बेला बगेर तल्लो भेगमा बसोबास गर्ने स्थानीयसमेत पीडित बन्ने गरेका छन् । ‘हरेक हिउँदमा तानसेनमा फोहोरमा लागेको आगोले वनमा क्षति पुग्ने गरेको र यसले जनजीवनलाई निकै सास्ती पुग्ने गरेको छ’, देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र अधिकारी भननुहुन्छ– ‘तानसेन नगरपालिका–५ स्थित देउराली सामुदायिक वनमा तानसेन नगरपालिकाले अव्यवस्थित रूपमा गरेको फोहोर विसर्जनका कारण यस्तो अवस्था आएको हो ।’

केही दिनअघि मात्र त्यहाँ फोहोर जलाउँदा वनमा आगलागी भएको थियो । वनदेवी वनक्षेत्रमा फालेको फोहोर जलाउँदा वर्षेनी वनमा आगलागी हुने र बजार क्षेत्रमा समेत जोखिम बढ्ने गरेको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेललेको भनाइ छ । सोमबार दिउँसो देउराली सामुदायिक वनमा लागेको आगोले करिब १५ हेक्टर वनक्षेत्रमा क्षति पु-याएको उहाँले बताउनुभयोे । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कर्मचारीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र अधिकारीले वनक्षेत्रमा फोहोर फाल्न प्रतिबन्धित लगाइएको बताउनुहुन्छ । तर, तानसेन नगरपालिकाले अटेरी गरेर फोहोर फाल्दै आएको उहाँको भनाइ छ । गएको भदौ महिनामा पाल्पा जिल्लाको सदरमुकाम तानसेनको फोहोरमैला व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सम्झौता गरेको थियो ।फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका र वातावरणीय सुन्दर नेपाल प्रालि बीच सम्झौतापछि तानसेनको फोहोर सुन्दर नेपालले व्यवस्थापन गरिरहेको छ । यसअघि तानसेन नगरपालिकाभित्रको फोहोरमैला तानसेन नगरपालिका स्वयंलेले विसर्जन गर्दै आउको थियो ।

नगरपालिकाले यसअघि आफैले करोडौं खर्च गरेर निर्माण गरेको तानपा–१२ स्थित डम्पिङ साइटमा केही समय फोहोर विसर्जन गरेको भए पनि वातावरणीय प्रदूषण र अन्य कारण जनाउँदै स्थानीयले विरोध जनाएका थिए । त्यसपछि फोहोर पुरानै स्थानमा फोहोर विसर्जन गर्दै आएको छ । नगरबाट दैनिक करिव २० टन फोहोर निस्कने गरेको छ ।जुन तानसेनस्थित देउराली सामुदायिक वन क्षेत्रमा विर्सजन गरिँदै आएको छ । फोहरलाई नष्ट गर्न आगो लगाउने गरिएकाले पनि विभिन्न समस्या देखिने गरेका हुन् ।