वडाध्यक्षलाई जिताउन राणाको दौडधूप, वडाध्यक्षहरु सुटुक्क थापातिर


बाँके ।

नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशमशेर राणाले संघमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी एमालेसँग तालमेलको प्रयासमा छन् ।२०७४ को चुनावमा नेपालगञ्जको २३ वटा वडामध्ये तीनवटा वडाको मात्रै वडाध्यक्ष जितेर पनि राप्रपाका महामन्त्री डा. राणाले मेयर जितेका थिए ।

राणाले पार्टीगत भन्दा व्यक्तिगत मतले चुनाव जितेको देखिन्थ्यो । नेपालगञ्जमा अहिले राप्रपा फुटको असर प्रस्ट देखिएको छ । नेपालगञ्जमा राप्रपाले जितेको तीन जना वडाध्यक्षमध्ये दुई जना कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालतिर लागेका छन् । केही दिनअघि कमल थापा नै नेपालगञ्ज आएर उनीहरुलाई टीका लगाएका थिए ।

राप्रपाका महामन्त्री डा. राणाकै शहरमा जनप्रतिनिधि राप्रपा नेपालमा गएपछि राप्रपा नेपालका कमल थापा हौसिएको देखिन्छ । दुई जना वडाध्यक्ष नै राप्रपा नेपालतिर लागेपछि राप्रपाका महामन्त्री डा. राणालाई आगामी चुनावमा त्यसको असर पर्ने देखिन्छ । राप्रपाले नेपालगञ्जका ४, ५ र ८ नम्बर वडा जितेको थियो । वडा नं. ५ का कैफुलबरा जोलाह र वडा नं. ८ का सुरेन्द्र गुप्ता कमल थापातिर लागेका छन् ।नेपालगञ्जमा यसपालि राप्रपाबाट मेयरमा को लड्ने हो भन्ने टुंगो छैन । चुनावी तालमेल भएन भने वडा नं. ४ का वडाध्यक्ष सफिक बेहनालाई अगाडि सार्न सकिने नेताहरु बताउँछन् । एमालेसँग तालमेल भएमा मेयर छोडेर उपमेयरलगायत केही वडा लिने योजनामा रहेको छ ।दुवै राप्रपा एमालेसँग तालमेल गर्न लागि परेका छन् । कोसँग एमालेको तालमेल हुन्छ यकिन भइसकेको छैन । एमालेसँग तालमेल गर्नका लागि राप्रपाका महामन्त्री डा. राणाको काठमाडौं दौडाहा चलिरहेको छ ।

एमालेसँग तालमेल गर्ने र उपमेयरसहित केही वडाध्यक्ष लिने राप्रपा नेपालले सार्वजनिक गरिसकेको छ । त्यो केही वडा भनेको ५ र ८ नम्बर लक्षित देखिन्छ । राप्रपाले पनि एमालेसँग तालमेल गरेर त्यही प्रकारको माग अघि सारेको छ ।नेपालगञ्जको दुईपटक मेयर भएका डा. राणाले उत्तराधिकारी जन्माउन सकेको देखिँदैन । उनी एमालेलाई नगरको चाबी सुम्पिन लालायित देखिन्छन्, संघमा आफूलाई सघाउने सर्तमा । अरू पार्टीमा जस्तै राप्रपामा पनि भित्रिने र बाहिरिने क्रम चलिरहेको छ । बाहिरका भित्रिरहँदा भित्रकै बाहिरिरहेका छन् । राप्रपाका महामन्त्री डा. राणाले दुई जना वडाध्यक्षसमेतलाई काबुमा राख्न सकेको देखिएन ।

अरू पार्टीको केन्द्रीय सदस्यसम्म रहेको नेपालगञ्जमा राप्रपाका महामन्त्री यहीं बस्छन् । संघमा चुनाव लड्दा उनको टक्कर जसपाका नेता मो. इस्तियाक राईसँग पर्ने देखिन्छ । २०७४ मा चुनाव जितेका पूर्वमन्त्री राई र दुईपटक मेयर भएका डा. राणाका बीचमा कडा प्रतिस्पर्धा हुने आँकलनका बीचमा गठबन्धनका प्रयासहरुले को अगाडि जान्छ भन्न सकिने अवस्था छैन ।केही माथिल्लो र धेरैजसो तल्लो स्तरका नेता तथा कार्यकर्ताको पार्टी परिवर्तनको लहरले सबै पार्टीमा हौस्याउने र झस्क्याउने गरेको छ ।