लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट


लमजुङ ।

आगामी स्थानीय तह निर्वाचनका लागि लमजुङमा १ हजार ७४ जना म्यादी प्रहरी छनोट भएका छन् । म्यादी प्रहरीमा आवेदन दिएकामध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् ।

जिल्लामा म्यादी प्रहरीका लागि निधारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला रहेका छन् । म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा नै छनोट गरिएका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । हिमाली जिल्लामा मनाङमा भने आवश्यता भन्दा कम संख्यामा आवेदन परेपछि लमजुङबाटै केही संख्यामा छनोट गरिएको हो ।म्यादी प्रहरी भर्ना चरणअन्तर्गत गत आइतबार शारीरिक परीक्षण सकिएको थियो । सोपश्चात् भएको लिखित परीक्षामा उत्तीर्ण भएकाको नाम सार्वजनिक भएको हो । म्यादी प्रहरीका लागि १८ देखि ५२ वर्ष सम्मका व्यक्तिहरुले आवेदन दिएका थिए ।

म्यादी प्रहरीमा बढी मात्रामा जिल्लाको ग्रामीण भेगबाट आवेदन परेको थियो ।म्यादी प्रहरीमा भर्ना हुनका लागि स्वास्थ्य तथा शारीरिक मापदण्ड प्रहरी जवानसरह हुने उल्लेख छ । आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्ती सँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान-निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश-उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनाट गरिएको प्रहरीले जनाएको छ । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।