गुल्मीमा ११ वटा दल दर्ता

0
Shares

गुल्मी  ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीमा ११ दलले दल दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार राष्ट्रिय दलबाहेकका ११ दलले निर्वाचनमा भाग लिन चुनाव चिन्हको माग गर्दै दल दर्ता गराएका हुन् ।

दर्ता भएका दलहरुमा राप्रप्रा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, विवेकशील साझा पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाली कांग्रेस बीपी, राष्ट्रिय एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जन समाजवादी पार्टी नेपाल रहेका छन् ।
२ लाखभन्दा बढी मतदाता

स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २ सय १५ जना महिला रहेका छन् । २ जना अन्य मतदाता रहेका छन् ।

जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणनाअनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ जना रहेको छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७ सय ८८ जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना रहेका छन् । निर्वाचनका लागि १ सय ४२ मतदानस्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र १२ वटा स्थानीय तह रहेको छ । जिल्लामा ९३ वटा रहेका छन् ।

४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । जिल्लामा रहेका २ नगरपालिका, १० गाउँपालिका गरी ९३ वडामा आगामी ५ वर्षका लागि उक्त जनप्रतिनिधि निर्वाचित हुनेछन् ।