सत्ता गठबन्धनले मतका आधारमा सिट बाँडफाँड गर्ने


यमलाल भुसाल, बुटवल

सत्तारूढ पाँच दलले रूपन्देहीका १६ वटै स्थानीय तहमा संयुक्त संयन्त्र निर्माण गरी मतका आधारमा सिट बाँडफाँड गर्ने निर्णय गरेका छन् । सबै दलको सहअस्तित्व स्वीकार गर्दै सम्मानजनकरूपमा सिट बाँडफाँड गर्ने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस रूपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारूढ गठबन्धनका दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेका छन् । सबै पालिका र वडास्तरमा संयन्त्र गठन गरी एकढिक्का भएर स्थानीय तहको निर्वाचनमा जित निकाल्ने निर्णय भएको नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले बताउनुभयो ।
गठबन्धनले आ–आफ्ना दलको वडा तहसम्मको मतको वस्तुस्थिति संयन्त्रमा बुझाएपछि यथार्थ मतको आधारमा सिट बाँडफाड गर्ने सहमति भएको उहाँको भनाइ छ । संयन्त्रको नेतृत्व कांग्रेसले गर्नेसमेत गठबन्धनमा निर्णय भएको छ ।
गठबन्धनको बैठकले रूपन्देहीका १६ वटै स्थानीय तहमा जित निकाल्ने गरी संयन्त्रलाई क्रियाशील बनाउने र संयुक्त चुनावी प्रचारप्रसार

अभियान थाल्ने निर्णय गरेको छ । बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, जनता समाजवादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजुु गरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमिरेलगायतले संविधानको रक्षा र कार्यान्वयन तथा प्रतिगमनविरुद्ध गठबन्धनलाई सफल बनाउनुपर्ने धारणा राखेका थिए ।

गत स्थानीय चुनावमा रूपन्देहीमा एमालेले बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिका, सियारी, कञ्चन र शुद्धोधन गाउँपालिका जितेर पहिलो पार्टी बनेको थियो । जनता समाजवादी पार्टीले ५ स्थानीय तह जितेर दोस्रो र कांग्रेस तेस्रो पार्टी बनेको थियो ।