धुलिखेलमा एमालेका नेता भित्राउँदै कांग्रेस


धुलिखेल । 

१४ औँ अधिवेशनलगत्तै संगठन सुदृढीकरणका साथ निर्वाचन केन्द्रित भएको नेपाली कांग्रेसले धुलिखेल नगरपालिकामा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेमा भूकम्प आउने गरी एमालेका नेताहरुलाई आफ्नो पार्टीमा भित्र्याउन थलेको छ ।

अघिल्लो निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १२ वडामध्ये तीनवटा वडामा मात्रै थोरै मतान्तरले नेतृत्व लिन सफल कांग्रेसले एमालेका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराएर वैशाख ३० को निर्वाचन जित्ने रणनीतिअनुरूप काम गरिरहेको छ । धुलिखेल नगरमा कांग्रेसको साख फर्काउन दुई महिना अघिदेखि संगठन विस्तार र परिचालनमा लागेको कांग्रेसले पछिल्लो समय पार्टी प्रवेशलाई पनि प्राथमिकता दिएको हो ।

अघिल्लो हप्ता एमालेका ८ नम्बर वडाध्यक्षसहित दर्जनौं नेतालाई आफ्नो पार्टीमा प्रवेश गराएको कांग्रेसले वडा नं ९ का प्रभावशाली नेता रामकृष्ण हुमागाईंलगायत दर्जनौं एमालेका नेतालाई पनि कांग्रेस प्रवेश गराइसकेको छ ।अघिल्लो निर्वाचनमा २ हजार ५ सय ७३ मत अन्तरले प्रमुख र १ हजार ७ सय ८३ मतअन्तरले उपप्रमुखमा कांग्रेसले हारेको थियो । वडा नं ४, ५ र ६ तीन वडामा मात्र कांग्रेसको नेतृत्व रहेको धुलिखेलमा एमालेबाहेक माओवादी र राप्रपाको पनि बलियो उपस्थित रहेको छ । यसअघि माओवादीको प्रमुखमा १ हजार ६ सय २१ र उपप्रमुखमा २ हजार ६ सय ६१ मत आएको थियो । धुलिखेल वडा नम्बर ७ मा दोब्बरभन्दा बढी मतअन्तरका साथ राप्रपाबाट वडाध्यक्ष रोमिप्रसाद व्याञ्जु विजयी हुनुभएको थियो ।

हालै मात्र कांग्रेस प्रवेश गरेका वडा नं ८ का अध्यक्ष निराजन जंगमले एमालेबाट ६ सय ४३ मत पाउनुभएको थियो । वडा नं ८ मा तत्कालीन मधेसी जनअधिकार फोरमका सुब्बा तामाङले ३ सय १७ मत प्राप्त गर्नुभएको थियो । फोरम कांग्रेसमा समाहित भइसकेको छ । कांग्रेसका उम्मेदवारले यसअघि यो वडामा ३ सय १६ मत प्राप्त गरेका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले एक कार्यक्रमबीच बुधबार पार्टी प्रवेश गराएका एमाले नेता रामकृष्ण हुमागाईं एमालेका पूर्वजिल्ला सदस्य, काभ्रे क्षेत्र नम्बर २ का पूर्वअध्यक्ष र हाल प्रदेश सदस्य हुन् । हुमागाईंसँगै पूर्वगाविस अध्यक्ष साधुराम वडाल, धुलिखेल नगर कार्यपालिकाका सदस्य अर्जुन भुजेल, उपेन्द्र हुमागाईं पूर्ववडाध्यक्ष दामोदर हुमागाईं पार्टी प्रवेश गरे सँग धुलिखेल वडा नं ९ कांग्रेसका लागि बलियो वडा बनेको छ । वडा नम्बर ९ मा यसअघि पनि कांग्रेस थोरै मात्र मतअन्तरले पराजित भएको थियो । अघिल्लो निर्वाचनमा यो वडामा एमालेको ७ सय ३५ मत आएको थियो भने कांग्रेसको ७ सय २० मत आएको थियो ।

‘हामी वडामा मात्र होइन टोल–टोलमा पार्टी संगठन विस्तार गरी अघि बढेका छौं’, कांग्रेस जिल्ला उपसभापतिसमेत रहेका नेता रमेशप्रसाद हुमागाईले भन्नुभयो– ‘अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको संख्या पनि यो नगरमा उल्लेख्य छ ।’ कांग्रेसका लागि प्रमुख प्रतिस्पर्धी दल एमाले रहेको धुलिखेल नगरमा ‘घर–घर जाऔं, काग्रेस जिताऔं’ भन्ने एक महिने अभियानमा कांग्रेसको जित सुनिश्चित बनाउने मुल उद्देश्य राखिएको धुलिखेल काग्रेसले जनाएको छ ।

धुलिखेलमा अघिल्लो निर्वाचनको मत परिणाम

प्रमुख

एमाले ७९८१
कांग्रेस ५४०८
माओवादी १६२१

उपप्रमुख

एमाले ६७२३
कांग्रेस ४९४०
माओवादी २६६१

वडा नं १

एमाले ३८७
कांग्रेस २२१
माओवादी १७७

वडा नं २

एमाले ८२६
कांग्रेस २६०
माओवादी २४८

वडा नं ३

एमाले ५१६
कांग्रेस २१३
माओवादी १७०

वडा नं ४

कांग्रेस ४२८
एमाले २२५
माओवादी १६६

वडा नं ५ कांग्रेस ४७५
एमाले ४७३

वडा नं ६

कांग्रेस ५७६
एमाले ४५९
माओवादी १०३

वडा नं ७

राप्रपा ७३५
एमाले ३०२
कांग्रेस २७४
माओवादी १०७

वडा नं ८

एमाले ६४३
कांग्रेस ३१६
फोरम ३१७
माओवादी २२५

वडा नं ९

एमाले ७३५
कांग्रेस ७२०

वडा नं १० एमाले ३४६
कांग्रेस २७१
माओवादी १०७

वडा नं ११ एमाले ९४१
कांग्रेस ५०५
माओवादी ४२७

वडा नं १२

एमाले ६५१
कांग्रेस ६१६
माओवादी २३३