चोरिएको चार दशकपछि बोधिसत्वको मूर्ति प्रतिस्थापन 


न्युज अफ नेपाल,ललितपुर ।

पुरात्तात्विक दृष्टिले महत्वपूर्ण बोधिसत्वको मूर्ति चोरी भएको ४१ वर्षपछि ललितपुरको मयूरवर्ण महाविहार,भिन्छेँ बहालमा प्रतिस्थापन गरियो ।
सो महाविहारका सदस्य, स्थानीयवासीले लामो समयको प्रयासपछि सो मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट फिर्ता लगेर प्रतिस्थापन गरिएको हो।चोरिएको सो मूर्ति अमेरिकामा भेटिएको थियो। त्यसपछि पुरातत्त्व विभागको पहलमा सो मूर्ति नेपाल ल्याई संग्रहालयमा राखिएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले बताउनुभयो ।

सम्पदा अभियन्ताहरूको प्रयासमा मूर्ति जहाँबाट चोरिएको हो, त्यही प्रतिस्थापन गर्ने क्रम बडेसँगै सो मूर्ति फिर्ता ल्याउन स्थानीयहरू उत्साहित भएका थिए ।मूर्ति संग्रहालयमा रहेको थाहा पाएपछि स्थानीयले मूर्ति महाविहारमा फिर्ता ल्याउन प्रयास गर्दै आएको विहार सुधार समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्यले बताउनुभयो। ८-९ औँ शताब्दीको सो मूर्ति बन्धुदत्त आचार्यका छोरीका सन्ततिहरूले स्थापना गरेको इतिहास रहेको छ । संग्रहालयबाट यस बज्रबाराहीमा हराएको मूर्ति र नक्साल स्थित पद्मपाणीको मूर्ति सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको अधिकृत सुभाषकृष्ण डंगोलले जानकारी दिनुभयो ।

मूर्ति फिर्ता ल्याउने स्थानीयको प्रयासमा प्रशासनिक प्रक्रिया मिलाउन ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, स्थानीय समाजसेवी प्रेमकृष्ण महर्जनले लगायत सहजीकरण गरिदिनुभएको थियो।शनिबार संग्रहालयमा आयोजित एक समारोहकाबीच सो मूर्ति सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको थियो।

परम्परागत बाजागाजाका साथ पुल्चोकबाट मूर्तिलाई परिक्रमा गराई भिन्छेबहालमा पु-याइएको थियो । विभिन्न स्थानमा हराइएका मूर्तिहरु पनि संग्रहालयमै यत्रतत्र रहेको छ । हराइएको मूर्ति खोजी गरी आएमा सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न तयार रहेको पनि संग्रहालयले जनाएको छ ।