गाउँको विकासमा जुट्दै युवा

0
Shares

डडेल्धुरा । 

सुदूरपश्चिम प्रदेशको मौलिक वर्ष विसु मनाउन घर फर्किएका युवाहरू स्थानीय स्तरमा सञ्चालित विकास निर्माणका काममा खटिन थालेका छन् ।

विगतमा कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवासमेत हाल विकास निर्माणमा जुट्न थालेका छन् । संघ, प्रदेश र स्थानीय तहबाट स्थानीयस्तरमा विनियोजन भएका विभिन्न विकास योजनाको कार्यान्वयन गर्न युवा अघि सरेका हुन् ।गाउँ फर्किएका युवा विकास निर्माणमा जुट्न थालेपछि बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता हटेको छ । स्थानीय तहले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण वडास्तरमा रोजगारी सिर्जना हुनथालेको हो । वडामा भित्रिएका विकास योजनाहरूले गाउँमा रोजगारी सिर्जना भएको र युवा दैनिक रूपमा काम गर्न थालेको परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशव बोहराले बताउनुभयो ।

युवाले काम गर्न थालेपछि योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ छ ।वडाध्यक्ष बोहराले कतिपय ग्रामीण क्षेत्रका युवाहरू नयाँ वर्षको मुखैमा कामका लागि विदेशिन बाध्य भएका बेला सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रहरूमा भने युवाहरू घर फर्किने क्रम बढेको बताउनुभयो । विसुपर्व र स्थानीय निर्वाचनमा मतदान गर्न गाउँ फर्किएका युवाहरूले हाल ग्रामीण क्षेत्रको विकासका लागि पसिना बगाउन थालेको उहाँले जानकारी दिनुभयो ।

‘विगतका वर्षमा अन्य गाउँबाट मजदुरहरू ल्याउनुपर्ने अवस्था थियो’, वडाध्यक्ष बोहराले भन्नुभयो– ‘शहर बजार र विदेशमा बस्ने युवा गाउँ फर्किएपछि बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता हटेको छ । विकास योजनामा स्थानीय युवाले रोजगारी पाएका छन् ।’ स्थानीय सरकार भएपछि गाउँको विकासमा धेरै बजेट आउने गरेकाले गाउँमा पनि सहजै काम पाइन थालेको परशुराम नगरपालिका–६ का युवा चूडामणि पनेरुले बताउनुभयो । सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको पूर्वाधार विकासमा आएको बजेटमा गाउँकै युवाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

गाउँमै काम पाइन थालेपछि शहरबजारमा काम खोज्न जानुपर्ने अवस्था हटेको स्थानीय अगुवा हरिप्रसाद पनेरुले बताउनुभयो । विगतमा कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरूले योजनाको जिम्मा लिएर काम गर्न थालेको समेत उहाँले जानकारी दिनुभयो ।ऋण लिएर कामको खोजीमा मलेसिया पुगेका परशुराम–३ मार्कुका युवा धनबहादुर विष्टले कोरोना महामारीका कारण भनेजस्तो काम नपाएपछि गाउँ फर्किएको र अहिले गाउँको विकास योजनाहरूका काम गर्न थालेको बताउनुभयो ।

‘घरमै बसेर हाल दैनिक र नौ सयदेखि एक हजार रुपियाँसम्म कमाइ हुने गर्दछ’, उहाँले भन्नुभयो– ‘तरकारी र फलफूल खेती गरेर थप आम्दानी गर्ने गरेको छु ।’ उपभोक्ता समितिमार्फत कार्यान्वनय हुने विकास योजनाहरू कार्यान्वयनमा जुटेको उहाँले बताउनुभयो । गाउँमा विकास योजनाहरू धेरै मात्रामा भित्रिने हो भने गाउँमै रोजगारी पाइने र विदेश जानुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।

पूर्वाधार विकासका योजना गाउँमा धमाधम भित्रिन थालेपछि युवाले रोजगारी पाएको परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताउनुभयो । गाउँको विकासका लागि आएका योजनाहरूमा काम गर्दा पैसाका साथै आनन्द पनि मिल्ने गरेको स्थानीय युवा जयबहादुर धामीले जानकारी दिनुभयो । उहाँले गाउँको मुहार फेर्न युवाहरूको योगदान र पसिना आवश्यक भएकाले युवाहरूले गाउँको विकासमा जुट्नुपर्ने बताउनुभयो ।