विद्युतीय सुरक्षा दिवस मनाइयो


काठमाडौं ।

विद्युत् दुर्घटनाबाट जोगिन र जोगाउन जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष चैत २६ गते मनाउँदै आएको विद्युतीय सुरक्षा दिवस यस पटक पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो ।

यसै अवसरमा नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन)ले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटना नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरणले सुरक्षाका उपायहरू अपनाउन शुरू गरिसकेको जानकारी दिनुभयो ।

उहाँले विद्युत् दुर्घटनाका प्रमुख कारणहरूमध्येको एक नाङ्गो कन्डकटरको प्रयोग रोकिसकेको जानकारी दिनुभयो । उहाँले ११ केभीको लाइनमुनीका घरहरूमा लाइन झरेर धेरै दुर्घटना हुने गरेको भन्दै प्राधिकरणले घरमाथि परेको ११ केभीको लाइनहरू सार्ने काम गरिरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत् दुर्घटनाका घटनाहरूमा कमी ल्याउन जनचेतनाको खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा पूर्व जलस्रोतमन्त्री ई. दिपक ज्ञवालीले विद्युतीय सुरक्षाका बारेमा गाउँगाउँमा समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले काठमाडौंमा आगलागीको प्रमुख कारणमध्ये फाइबर केवल भएको ठाउँमा टेलिकमको तारको गुजुल्टो हुनु पनि एक भएको भन्दै प्राधिकरण र टेलिकमको ध्यान त्यतातिर पनि जानुपर्नेमा जोड दिनुभयो ।सीनका उपाध्यक्ष ई. तीर्थमान शाक्यले विद्युत् दुर्घटनामा प्राधिकरणकै कर्मचारीहरू बढी पर्ने गरेको जिकिर गर्दै प्राधिकरणभित्रै विद्युतीय सुरक्षा इकाइ खडा गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सीनका पूर्व अध्यक्ष ई. लादुराम तामाङले विद्युतीय सुरक्षासम्बन्धी नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रममा प्राधिकरणका ईं अच्युतबाबु घिमिरेले हाइ भोल्टेज सिस्टममा सुरक्षा विषयक कार्यपत्र प्रस्तुत गर्दै घरहरूमा अर्थिङ जरुरी रहेको बताउनुभयो । उद्योगपति अनिल सारदाले विद्युत् दुर्घटनाबाट जोगिन गुणस्तरीय केबुलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।