हाम्रो विद्यालय म बनाउँछु अभियान शुरू गरिने


काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताउनुभएको छ । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान शुरू गरिने बताउनुभयो ।

उहाँले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रध्यानध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो ।‘हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लगौैं भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भन्नुभयो– ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा बढी छ ।’

उहाँले लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताउनुभयो । ‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं’ उहाँले भन्नुभयो ।

‘सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रुपमा अघि बढाऔं मन्त्री पौडेलले भन्नुभयो– ‘पेशालाई मर्यादित बनायौं भने शैक्षिक सुधार आफै हुन्छ ।’ शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभई सेवा सहितको डिउटी भएको उहाँको भनाइ छ ।

निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाकसँग नियमित छलफल र मेहेनत गर्नुपर्ने बताउनुभयो ।‘पढाउने र अभिभावको घर घरमा पुगी मेहेनत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामा आकर्षण बढेकाे देखिन्छ’, मन्त्री पौडेलले भन्नुभयो– ‘सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकले होम भिजिट गर्दै पढाउने विषयमा मेहेनत गर्नुप-यो ।