बंगलादेशसँगको सहकार्य प्रभावकारी बनाउन आवश्यक: परराष्ट्रमन्त्री डा. खड्का


काठमाडौं । 
परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र बंगलादेशबीच द्विपक्षिय हित प्रवद्र्धनका लागि पर्यटन, उर्जा र सम्पर्क सञ्जाल विस्तार लगायतका क्षेत्रमा आपसी सहकार्यलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ ।

नेपाल र बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद् र नेपालस्थित बंगलादेशी दूताबासले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. खड्काले क्षेत्रीय मञ्च, संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा हुँदै आएको दुई देशको सहकार्यलाई थप अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले बंगलादेशसँग उर्जा क्षेत्रमा सहकार्य अघि बढिरहेको जानकारी दिँदै छिट्टै नै नेपालमा बढी भएको विद्युत् बंगलादेशमा निर्यात गरिने तयारी भैरहेको जानकारी पनि दिनुभयो । परराष्ट्रमन्त्री डा. खड्काले दुई देशबीच विकासका समान एजेन्डा रहेको जिकिर गर्दै बंगलादेशलाई नेपालको अपार सम्भावना रहेको जलविद्युतको क्षेत्रमा लगानी गर्न आह्वान पनि गर्नुभयो । कार्यक्रममा उहाँले कोरोना महामारीको बेलामा नेपाललाई गरेको मेडिकल सहयोगका लागि बंगलादेशप्रति आभार व्यक्त गर्र्नुभयो ।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नमन चौधरीले नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा सहकार्यका लागि बंगलादेश सक्रियताका साथ लागिपरेको बताउँदै बंगलादेशी नागरिक नेपालको जलविद्युत्का साथै पर्यटनमा पनि लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले पाँच दशक अगाडि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल पनि रहको स्मरण गर्दै दुवै देश र जनताको सम्बृद्धि एवं विकासका लागि पारस्परिक सहयोग र सहकार्यबाट व्यापार, लगानी र कनेक्टिभिटीमा अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले बंगलादेशसँगको उर्जा व्यापार सम्झौताले नेपालको बंगलादेशसँगको व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।नेपाल र बंगलादेशबीच सन् १९७२ को अप्रिल ८ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।