देशभरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप सुरु


हेटौंडा ।

पश्चिम मकवानपुरको मनहरी गाउँबाट शुक्रवार देशभरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप अभियान सुरु गरिएको छ ।

टाइफाइडविरुद्ध खोप अभियान मकवानपुरको मनहरी गाउँपालिका–५, भोजसिद्ध माध्यमिक विद्यालयबाट सुरु भएको हो । खोप अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरे सुरु गर्नुभएको थियो ।

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने उहाँले बताउनुभयो । नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अन्य उमेर समूहभन्दा दश गुणा बढी बालबालिकालाई उक्त रोग सर्ने गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले टाइफाइडविरुद्ध खोप अभियानबारे विस्तृतमा जानकारी गराएको छ । खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने बताउँदै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले त्यस अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ बालबालिकालाई खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।

खोप अभियान सञ्चालनका लागि प्रदेशभर ६ हजार ५ सय २० वटा केन्द्र निर्धारण गरिएकोमा ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । खोप लगाउन ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिएका छन् भने १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालित छन् ।

खोप अभियान सकिएपछि पनि सरकारले टाइफाइड खोपलाई नियमित खोपका रूपमा समेट्ने जनाइएको छ । बच्चा जन्मिएको १५ महिनामा लगाउने गरी टाइफाइडविरुद्ध खोप नियमित गर्न लागिएको जनाइएको छ । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ ।मकवानपुरका भने १ लाख ८४ हजार ८६ बालबालिकाले टाइफाइड खोप लगाउने छन् ।

स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख भीमसागर गुरागाईंका अनुसार हेटौँडा उपमहानगरपालिकामा ५० हजार १ सय ६३, थाहा नगरपालिकामा ८ हजार ६ सय १६, बागमती गाउँपालिकामा ६ हजार ६ सय २८, बकैया गाउँपालिकामा ८ हजार ९ सय ४८, मनहरी गाउँपालिकामा १० हजार ३ सय ७२, राक्सिराङमा ५ हजार ३ सय ७२, कैलाशमा ४ हजार ८ सय ३८, भीमफेदीमा ४ हजार ७ सय ५८, गढीमा ५ हजार ३ सय ३५ र इन्द्रसरोवर गाउँपालिकामा ३ हजार २७ जनाले खोप लगाउने छन् । मकवानपुरमा ६ सय ८ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

८ सय ७० खोप कार्यकर्ताले खोप लगाउने छन् ।मनहरी गाउँपालिकाको स्वास्थ्य शाखाका खोप अभियान प्रवक्ता ज्योतिराज लुईंटेलले ४९ स्थानमा ६० खोप केन्द्र निर्धारण गरी खोप लगाउने व्यवस्था मिलाइएको बताउनुभयो । ९० स्वास्थ्यकर्मी र १ सय ३२ स्वयंसेवक प्रयोग गरेर खोप लगाउने कार्यलाई व्यवस्थित गरिएको स्वास्थ्य संयोजक टीकाराम अधिकारीले जानकारी दिनुभयो ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यस पटक विद्यालयमै पुगेर खोप लगाउने तयारी छ । त्यसका अलावा मनहरी गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा चैत २५ गतेदेखि ३० गतेसम्म खोप लगाइँदैछ । यस पटक निजी विद्यालयमा समेत खोप केन्द्र तोकिएको छ ।

पालिका उपाध्यक्ष मनिला विष्टले खोप कार्यक्रमलाई प्रभावकारीढंगले अघि बढाउन सबै पक्षले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । खोप समन्वय समितिले विद्यालयका शिक्षकलाई खोपबारे अभिमुखीकरण गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।