विपिले स्वास्थ्य शिक्षा पुर्‍याएको त्यो गाउँ, अहिलेका नेताबाट पनि उस्तै छ अपेक्षा  

गाउँलेलाई समस्यानै समस्या, खानेपानी बाटोघाटोकोसमेत अभाव



भुग्देउ, काभ्रे । 

वैशाख ३० को निर्वाचनमा वेथान्चोक गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार दाबी गरिरहेका कांग्रेस नेता भगवान अधिकारी बुधवार वडा नं ६ भुग्दउ पुगे । पढाइका साथै खेलकुदलाई पनि सँगै अघि बढाइरहेको त्यहाँको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद पोसाक वितरण गर्न भुग्देउ पुगेका कांग्रेस नेता अधिकारी सँग गाउँलेको माग थियो– स्वास्थ्य, शिक्षा, सडक, खानेपानीको स्तरोन्नति  र सिचाई सुविधाको उपलब्धता ।

पहिलो पटक जन निर्वाचित प्रधानमन्त्री विपि कोइरालाले गाउँ गाउँमा विकास पुर्‍याउनु पर्छ भन्दै स्वास्थ्य चौकी, पाठशाला, हुलाक स्थापना गरेको भुग्देउमा पहिले देखि नै राजनीतिक र विकासको चेतना भएका व्यक्तिहरुको बसोबास रहेको अनुमान गर्न सकिन्छ । तर पनि आम गाउँघर को जस्तै यहाँको  समस्या अझै ज्यू का त्यूँ छ । विपि कोइरालाले २०१६ साल देखि नै विकासको बिउँ रोपेको यो गाउँमा आउने अहिलेका जनप्रतिनिधिहरूले भने चासो नदिएको स्थानीयको आरोप छ । अहिलेका नेताबाट पनि विपिले गर्नुभएजस्तो विकासको अपेक्षा  यहाँका जनताको छ ।

प्राकृतिक स्रोत साधनको रूपमा पानीको मुहान छ तर खेतबारी बाझै छ । यहाँका किसानहरू खेतीको लागि आकासे पानीको भर पर्नु परेको छ ।  ‘यहाँको सिमसिम खोला र न्यारे खोलाबाट सिचाई मात्र हैन खानेपानी र सरसफाइको लागि एक घर एक धारोको व्यवस्था गर्न सकिन्छ’ स्थानीय बासिन्दा श्रीमहल सिंह तामाङ भन्नुहुन्छ– ‘सिचाइको व्यवस्था भए कृषि उत्पादन दोब्बर हुन्छ ।’ परम्परागत कृषि पेसा अँगाल्दै आएका यहाँका कृषकहरूलाई व्यवसायीक र आधुनिक कृषि पेसामा आकर्षित गर्न सिचाई सुविधा अतिअवाश्यक रहेको छ ।  २०३९ सालमा वडा अध्यक्ष भएका श्रमहलले सरकारले नागरिकको लागि एक घर एक धाराको व्यवस्था हुन्छ भनेपनि गाउँमा खानेपानीको अभाव रहेको बताउनु भयो ।

भुग्देउबाट जिल्लाको व्यापारिक केन्द्र बनेपा ,  विश्वविद्यालय र अस्पताल भएको केन्द्र मात्र नभई सदरमुकामसमेत रहेको धुलिखेल आइपुग्न करिब ३० किलोमिटर टाढा छ ।  कच्ची बाटो र कम मात्रामा चल्ने सार्वजनिक यातायातका करण यहाँका बासिन्दालाई पनौती, बनेपा, धुलिखेल आइपुग्न झन्डै चार घण्टा लाग्छ । वेथानचोक गाउँपालिकाको केन्द्रमा पुग्नसमेत तीन घण्टा सम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय ज्ञानबहादुर तामाङ भन्नुहुन्छ – ‘कोही बिरामी भएर अस्पताल लैजान एम्बुलेन्स बोलाउन पर्‍यो भने वेथानचोक गाउँपालिकाको केन्द्रबाट भुग्देउ गाउँसम्म आइपुग्न कम्तिमा पनि ४५ मिनेट लाग्छ ।’ उहाँका अनुसार सडकको स्तरोन्नति गरेमा एम्बुलेन्स १५ मिनेट भित्र आइपुग्न सक्छ । त्यस्तै यातायातको सहज पहुँच पुर्‍याउन सके पनौती, बनेपा, धुलिखेलसम्म ४५ मिनेट भित्र पुग्न सकिन्छ ।

दुर्गम ठाउँलाई तत्काल सुगम सरह सुविधा उपलब्ध गराउन यी नै कुराहरूको आवश्यक पर्ने बताउँदै स्थानीय गाउँलेहरूले अबको नेतृत्वले सडकको  स्वास्थ्य, शिक्षाका साथै स्तरोन्नति खानेपानी तथा सिचाई व्यवस्थामा ध्यान दिनुपर्ने बताएका छन् । इन्टरनेट पनि यहाँको अत्यावश्यक विषय हो । इन्टरनेटभरमा गाउँपालिका र वडा जोड्ने सञ्चार नेटवर्क भएमा वडाबाट गाउँपालिका मात्र होइन सदरमुकाम गएर गर्नुपर्ने कामको पनि फेरी दोहोर्‍याएर वडामा आउनु नपर्ने गरी काम गर्न सहज हुने अपेक्षा छ।

कृषि उत्पादनको बजारीकरण, कोल्ड स्टोरको अभाव यहाँको अर्को समस्या हो । पशुपालनको राम्रो सम्भावना रहेको भुग्देउमा उत्पादन मूलक व्यवसाय सञ्चालन गरेर रोजगारी कोसमेत व्यवस्था गर्न सकिने भएपनि स्रोत साधनको अभाव छ ।

खेलकुद लाईसमेत सँगै अगाडी बढाइरहेका विद्यार्थीहरुलाई पोसाक वितरण गर्न र यहाँको समस्यालाई बुझ्न बुधवार भुग्देउ पुगेका कांग्रेस नेता अधिकारीले भन्नुभयो– ‘यहाँको तमाम समस्या समाधान गरी यहाँका बासिन्दाहरूलाई यही बसेर उत्पादनमुखी कार्य गर्न सक्ने बनाउन गुरु योजना बनाएर अघि बढ्नेछु ।’ सुभम समूहले उपलब्ध गराएको ५० थान खेलकुद पोसाक सहितको सामग्री उपलब्ध गराउँदै उहाँले आफू भुग्देउ लगायत समग्र वेथानचोक गाउँपालिकाको विकासको लागि नेतृत्व लिन अघि बढेकोसमेत बताउनु भयो ।

यहाँ विद्यालयमा अध्ययनरत विद्यार्थीहरू खेलकुद तर्फ पनि आकर्षित भएको देखिन्छ । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थी पढाइका साथै नियमित खेलकुदको पनि अभ्यास गरिरहेका छन् । कांग्रेस नेता अधिकारीले यी नै खेलाडी विद्यार्थीहरूलाई शुभम समूहले सन्तोष सर्राफ र सुजन महतोको सहयोगमा उपलब्ध भएको खेलकुद सामग्री वितरण गरी विद्यार्थीहरूको हौसला बढाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्