नवलपुर अदालतबाट पनि पललाई थुनामा पठाउने आदेश

0
Shares

नवलपरासी ।

नवलपरासी पूर्व किशोरी करणीको आरोप लागेर थुनामा रहेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पूर्पक्षका लागि थुनामै पठाउने  आदेश गरेको छ ।

बुधवार राती अवेर गरेर भएको फैसलामा जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता पल शाहलाई जारी मुद्दाको पूर्पक्षका लागि तनहुँ जिल्ला कारागार पठाउने आदेश दिएको हो ।बुधवार जाहेरवाला र विपक्षका तर्फबाट चलेको दिनभरको बहस पछि शाहलाई थुनामै पठाउने आदेश भएको सूचना अधिकृत लाल बहादुर क्षेत्रीले बताउनु भयो ।

शाहको पक्षमा बुधवार ९ जना वकिलहरूले बहस गरेका थिए । बहस सकिए पछि पललाई अदालतबाट धरौटीमा रिहा, शुद्ध तारिख या पूर्पक्षका लागि थुनामा पठाउने कुनै पनि आदेश हुन सक्ने आकलन गरिएको थियो ।पलसँगको अघिल्लो दिनको बयान, सरकारी वकिल, विपक्षी तर्फका वकिलबाट भएको लामो बहस पछि अदालतले सो आदेश गरेको हो ।

अदालती आदेश पछि शाहलाई बुधवार राती नै पुनः तनहुँ नै पठाइएको बताइएको छ ।करणी उजुरीमा तनहुँ प्रहरी समक्ष उपस्थित भएका  शाहलाई तिनै किशोरीले गैँडाकोट प्रहरी कार्यालयमा आई पल विरुद्ध सोही प्रकृतिको जाहेरी दिएकी थिइन ।

यस अघि तनहुँ अदालतको आदेशमा पुर्पक्षका लागि स्थानीय कारागारमा रहेका शाहलाई अदालती परिपत्र अनुसार थुनछेक बहस र बयानका लागि मंगलबार जिल्ला अदालत नवलपुरमा पेस गरिएको थियो । शाह नवलपुर अदालतमा पेस भएसँगै जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलसँग लामो बयान लिएको थियो । बुधवार जाहेर वालका तर्फबाट तिन जना सरकारी वकिलले बहस गरेका थिए ।  थुनछेक बहसमा पीडितका तर्फबाट एक कानुन व्यवसायीको पनि उपस्थिति रहेको बुझिएको छ ।