रारामा जहाज नहुँदा यात्रीलाई सास्ती



मुगु ।

मुगु जिल्लाको रारा विमानस्थलमा विमान आउन छाडेपछि जहाजको प्रतीक्षामा बसेका यात्रीले सास्ती व्यहोर्नुपरेको छ । नियमित रूपमा उडान भर्दै आएका निजी एयरलाइन्सले उडान रोकेपछि मुगु आउने र बाहिर जाने यात्रु मर्कामा परेका हुन् ।

तारा एयर, गोमा एयर र सीता एयरले नेपालगन्ज विमानस्थलबाट रारा ताल्चा विमानस्थलका लागि दैनिकरूपमा चारदेखि पाँच पटकसम्म उडान भर्दै आएका थिए । तर, हाल ती एयरलाइन्सहरूले पूर्वी नेपालमा उडान बढाएकाले केही समयका लागि ताल्चा विमानस्थलमा नआउने बताएका छन् । विमानस्थल कार्यालयका प्रमुख सन्तोषकुमार गौतमका अनुसार जिल्लामा अहिले नेपाल वायुसेवा निगमले हप्ताको चारपटक उडान भर्दा जिल्लाका बिरामी र विद्यार्थीलाई प्राथमिकता दिइएको छ ।

यति बेला ताल्चा विमानस्थलमा नेपाल वायुसेवाले हप्ताको चारपटक आइतबार, मंगलबार, शुक्रबार र शनिबारका दिनमा सहुलियत उडान भर्दै आएको छ । रारामा आन्तरिक पर्यटक बढेकाले उनीहरूको सहजताका लागि चार्टर उडानको व्यवस्था गरिएको नेपाल वायुसेवा कार्यालय क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठ बताउनुहुन्छ ।

ताल्चा विमानस्थलबाट उडान कम भएसँगै सहजै टिकट नपाउँदा गन्तव्यस्थलसम्म जान नपाएको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाको गुनासो छ । ताल्चा विमानस्थलमा हवाई जहाजको टिकटका लागि प्रतीक्षा गरेको चार दिन भइसकेको तर अझै टिकट पाउन नसकेको उहाँको भनाइ छ । सडक यातायात प्रयोग गर्दा स्वास्थ्य समस्या आउने गरेको अर्को विकल्प नरहेको रोकाया बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र बिरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । हिजोआज रारामा पर्यटक पनि बढ्न थालेकाले नेपाल वायुसेवाको चार्टर उडानमार्फत पर्यटकलाई ल्याउने–लैजाने काम भइरहेको उहाँ बताउनुहुन्छ । उडानका लागि पर्खेर बसेका नागरिकलाई यथासीघ्र एयरलाइन्सको व्यवस्थापन गरिदिन जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले प्रजिअ रोकायालाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्