विपद् न्यूनीकरणका लागि सामग्री प्रदान



लमजुङ ।

हिमाली जिल्ला मनाङमा डिभिजन वन कार्यालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थालेको छ । कार्यालयले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम गरी सम्बन्धित निकायलाई पूर्वतयारीका लागि विभिन्न सामग्री प्रदान गरेको छ ।

जिल्लामा आगलागी तथा अन्य विपद्जन्य घटना हुन नदिन तथा घटना भइहालेमा अपनाउनुपर्ने सावधानीको पूर्वतयारीका लागि सचेतनामूलक कार्यक्रमसँगै सामग्री वितरण गरिएको डिभिजन वन कार्यालय मनाङका प्रमुख चिन्तामणि बरालले बताउनुभयो । उहाँका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि कार्यालय एक्लैको प्रयासले नहुने भएकाले सबैको साथ सहयोगका लागि आग्रहसँगै सचेतीकरण गरिएको हो ।

डिभिजन कार्यालय मनाङले जिल्लास्थित आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्लाका सामुदायिक वन समूहलाई विपद् जोखिम न्यूनीकरण तथा खोज, उद्धार र राहतका लागि प्रयोग हुने सामग्री प्रदान गरेको थियो । आपत्कालीन केन्द्रलाई विपद् व्यवस्थापन तथा अग्नि नियन्त्रणका लागि प्रयोग हुने सामग्रीहरु फाएर फाइटिङ फ्लोरिसेन्ट सुट २ थान, फायर फाइटिङ व्याकप्याक १ थान, फायर चेन स अर्थात् रुख ढाल्ने मेसिन एक थान, टिसर्ट १५ थान, हेलमेट ५ थान, साबेल ४ थान, करौती र हँसिया ३–३ वटा र वातावरणमैत्री झोला १४ स्थान प्रदान गरेको हो । उक्त समाग्री मनाङका डिभिजिन वन प्रमुख चिन्तामणि बरालले प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

वन कार्यालयले जिल्लास्थित सामुदायिक वन उपभोक्ता समूह, स्थानीय निकाय, टोल तथा गाउँमा समेत विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको डिभिजिन वन प्रमुख बरालको कथन छ ।

प्रतिक्रिया दिनुहोस्