बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा



बैतडी ।

अगामी स्थानीय तहको निर्वाचनमा बैतडीका १ सय २९ मतदानस्थलमध्ये ३१ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई वर्गीकरण गरेअनुसार सो संख्या अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।

जिल्लामा रहेका १ सय २९ मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार जिल्लाका अन्य ३४ मतदानस्थल संवेदनशील र ६४ मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका छन् । केन्द्र विवाद, विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको उहाँले बताउनुभयो ।

मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको सूचना अधिकारी भारतीको भनाइ छ । ‘मतदानस्थलको संवेदनशीलता हेरेर सुरक्षा योजना बनाएका छौं । त्यहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।

अति संवेदनशीलमा कम्तीमा ११, संवेदनशीस्लमा कम्तीमा ९ र कम संवेदनशीलमा कम्तीमा ८ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । १० वटा स्थानीय तह रहेको बैतडीमा २ सय ५ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता भएका छन् । दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्