विकटमा बिजुलीको सहारा बन्यो पेल्ट्रिक



हेटौंडा, (नेस) ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुञ्चेबुङमा पहिलोपटक बिजुली बत्ती पुगेको छ । अतिसीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको रुञ्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएको हो ।

बिजुली नभएकाले स्थानीय चेपाङ सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे । तर, गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेट उद्घाटन भएसँगै चेपाङको घरको अँध्यारो हटेको छ । सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेल्ट्रिक सेट आइतबारबाट उक्त स्थानमा सञ्चालनमा आएको हो । ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित छन् ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँमा हालसम्म विद्युत् प्राधिकरणमार्फत बिजुली बत्ती पुगेको छैन । पालिकाका केही स्थानमा यस्तै पेल्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझै अँध्यारोमा बस्न बाध्य छन् । अध्यक्ष मल्लले पालिकाभरमा करिब २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती पेल्ट्रिक सेटबाट केही वडाका घरधुरीलाई बत्ती पुगेको भए पनि केही वडा अँध्यारोमा छ ।

कुल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेल्ट्रिक सेटका लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने पालिकाले ६ लाख खर्चिएको छ । बाँकी ४ लाख बराबरको स्थानीयले श्रमदान गरेका छन् । २०७७ साल पुसबाट शुरु भएको निर्माणकार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको सञ्जाल कार्यकारी निर्देशक प्रवीन्द्र शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्