सकियो १६ सय सिँढीको निर्माणकार्य, जनप्रतिनिधिले गरे अवलोकन



काभ्रे ।

बनेपा नगरपालिकाले गौरवको आयोजनाअन्र्तगत बनेपा नगरपालिका वडा नम्बर ५ र ६ नम्बर वडामा १६ सय सिँढी निर्माणकार्य सम्पन्न गरेको छ । निर्माण सम्पन्न गरेको सिँढीको जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् ।

‘हामी निर्वाचित भएदेखि नै बनेपाका विभिन्न वडामा गर्ने भनिएको विकासका योजनाहरु सम्पन्न गरेका छौं’, संघीय सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले भन्नुभयो– ‘१६ सय सिँढीसहितको पार्क निर्माणको कार्य सकिएको छ । बनेपामा निर्माण भएको प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी, स्मार्ट सिटीअन्तर्गत पुराना धारा तथा पोखरी र मन्दिरहरुको पुनर्निर्माण, बासुकी पार्क, पक्की सडक निर्माण तथा भौतिक पूर्वाधार सम्पन्न विद्यालयहरुको निर्माणको कार्य सम्पन्न गरेका छौं ।’ निर्वाचन क्षेत्रका सबै वडामा कुनै न कुनै परियोजना सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

अवलोकनका लागि नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडाध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

धार्मिक तथा पर्यापर्यटनको उद्देश्यले निर्माण शुरु गरिएको सिँढीमार्फत नगरपालिकाले नागरिकको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्यका लागि धार्मिक हिसाबले पनि १६ सय सिँढी निर्माण गरिएको हो’, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘ऐतिहासिक चण्डेश्वरी मन्दिरको प्रवेशद्वारबाट बनेपाको गोसाइँस्थानसम्म जोड्ने दुई ठूला धार्मिकस्थलमा पुग्न सिँढीले सहज बनाएको छ ।’

मन्दिर तथा धार्मिक स्थलसँगै धार्मिक वनकारूपमा चण्डेश्वरी र गोसाइँस्थानको सामुदायिक बनलाई लिइन्छ । रक्तचन्दन, गुराँस तथा अन्य मसलायुक्त रुखहरुको बाक्लो जंगलको बीचबाट निर्माण गरिएको सिँढी आकर्षक छ । वनको मापदण्डभित्र रहेर एउटा पनि रुख नमासिकन निर्माण गरिएका १ हजार ६ सय सिँढीले प्रारम्भमै सर्वसाधारणको ध्यानाकर्षण गरेको छ ।

‘बनेपाको गौरवको आयोजनाका रूपमा सिँढी निर्माणलाई लिएका छौं’, उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो– ‘चण्डेश्वरी मन्दिरदेखि गोसाइँस्थानसम्मको मार्गलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सिँढी निर्माण गरिएको हो । दुवै धार्मिकस्थलमा आउने पर्यटकका लागि उक्त सिँढीको मार्गबाट ओहोर–दोहोर गर्न सहज हुनेछ ।’

सिँढीमा विद्युत्, खानेपानी, बस्ने स्थानहरु, रेलिङ, पानीको ड्रेनलगायतका संरचना निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताउनुहुन्छ । दुई चरणमा उक्त सिँढीको संरचना निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । रोजगारी सिर्जना समेत गर्ने उक्त योजनालाई गौरवको योजना मानेर निर्माण गरिएको छ । नयाँ वर्षको प्रारम्भदेखि नै उक्त सिँढीमार्ग सञ्चालनमा आउने छ ।

बनेपा नगरपालिका–५ का अध्यक्ष बलराम अधिकारीले बनेपा आसपासका क्षेत्रहरुको समेत अवलोकन गर्ने गरी तथा स्थानीय आयआर्जनमा टेवा पुग्ने गरी सिँढी निर्माण गरिएको बताउनुभयो । बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको ५ करोड ३५ लाख रुपियाँमा उक्त आयोजना निर्माण शुरु गरिएको थियो । ८ फिट चौडाइ, साइड ड्रेन, पार्किङ, बगैंचा, सार्वजनिक शौचालय, पिकनिक स्पोर्टलगायतका संरचनाहरु सिँढीको आसपास निर्माण हुनेछ । सिँढीको लम्बाइ डेड किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्