बनेपामा १६ सय सिँढीको निर्माण सकियो , जनप्रतिनिधिहरूले गरे अवलोकन

0
Shares

काभ्रे । 

बनेपा नगरपालिकाले गौरवको आयोजना अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ५ र ६ नम्बर वडामा १६ सय सिँढी निर्माण कार्य सम्पन्न गरेको छ । निर्माण सम्पन्न गरेको सिँढीको जनप्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

‘हामी निर्वाचित भए देखि नै बनेपाका विभिन्न वडामा गर्ने भनिएको विकासका योजनाहरू सम्पन्न गरेका छौँ’– संघीय सांसद एवं पूर्व मन्त्री गोकुल बास्कोटाले भन्नुभयो–‘१६ सय सिँढी सहितको पार्क निर्माणको कार्य सकिएको छ । बनेपामा निर्माण भएको प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी, स्मार्ट सिटी अन्तर्गत पुराना धारा तथा पोखरी र मन्दिरहरूको पुनर्निर्माण, बासुकी पार्क, पक्की सडक निर्माण तथा भौतिक पूर्वाधार सम्पन्न विद्यालयहरूको निर्माणको कार्य सम्पन्न गरेका छौँ ।’ पूर्व मन्त्री बास्कोटाको क्षेत्र रहेको बनेपाले हरेक वडामा गौरवका योजना सञ्चालन भइरहेको बताउनु भयो ।

निर्वाचन क्षेत्रका सबै वडामा कुनै न कुनै परियोजना सञ्चालन भइरहेको उहाँले बताउनु भयो । अवलोकनका लागि नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरू, कर्मचारीहरूको सहभागिता रहेको थियो । धार्मिक तथा पर्यापर्यटनको उदेश्यले निर्माण सुरु गरिएको सिँढी मार्फत नगरपालिकाले नागरिकहरूको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकहरूको स्वास्थ्यका लागि धार्मिक हिसाबले पनि १६ सय सिँढी निर्माण गरिएको छ’–बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले भन्नुभयो–‘ऐतिहासिक चण्डेश्वरी मन्दिरको प्रवेशद्वारबाट बनेपाको गोसाईस्थानसम्म जोड्ने दुई ठुला धार्मिक स्थलहरुमा पुग्न सिँढीले सहज बनाएको छ ।’ मन्दिर तथा धार्मिक स्थलसँगै धार्मिक वनका रूपमा चण्डेश्वरी र गोसाईस्थानको सामुदायिक बनलाई लिइन्छ ।

रक्त चन्दन, गुराँस तथा अन्य मसलायुक्त रुखहरूको बाक्लो जंगलको बिचबाट निर्माण गरिएको सिँढी आकर्षक छ । बनको मापदण्ड भित्र रहेर एउटा पनि रुख नमासिकन निर्माण गरिएका एक हजार ६ सय  सिँढीले प्रारम्भमै सर्वसाधारणको ध्यानाकर्षण गरेको छ । चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम सकिएको छ । ‘बनेपाको गौरवको आयोजनाका रूपमा सिँढी निर्माणलाई लिएका छौँ’–उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘चण्डेश्वरी मन्दिर देखि गोसाई स्थानसम्मको मार्गलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सिँढी निर्माण गरिएको हो ।

दुवै धार्मिक स्थलमा आउने पर्यटकहरूका लागि उक्त सिँढीको मार्गबाट ओहोर दोहोर गर्न सहज हुनेछ ।’ ‘सिँढीमा विद्युत्त, खानेपानी, बस्ने स्थानहरू, रेलिङ, पानीको ड्रेन लगायतका संरचना निर्माण हुनेछ’–प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘माटोमा खनिएका सिँढीहरूलाई पक्की सिँढी निर्माण गरी पर्यापर्यटनसँग जोड्ने मुख्य उद्देश्य हो ।’ दुई चरणमा उक्त सिँढीको संरचना निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो । रोजगारी सिर्जना समेत गर्ने उक्त योजनालाई गौरवको योजना मानेर निर्माण गरिएको छ । नयाँ वर्षको प्रारम्भ देखि नै उक्त सिँढी मार्ग सञ्चालनमा आउने छ ।

बनेपा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारीले बनेपा आसपासका क्षेत्रहरूको समेत अवलोकन गर्ने गरी स्थानीय आयआर्जनमा समेत टेवा पुग्ने गरी सिँढी निर्माण गरिएको छ । बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयाँमा उक्त आयोजना निर्माण सुरु गरिएको हो । ८ फिट चौडाइ, साइड ड्रेन, पार्किङ, बगैँचा, सार्वजनिक शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरू सिँढीको आसपास निर्माण हुनेछ । सिँढीको लम्बाई डेढ किलोमिटर छ ।