राजनीतिक दलबीच चुनावी प्रतिस्पर्धा


न्युज अफ नेपाल, काठमाडौं ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ सहित आठ दलले निर्वाचनका लागि आफ्नो विवरण बुझाएका छन् ।

सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।उक्त दलबाहेक अन्य व्यक्तिले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सक्नेछन् । राष्ट्रिय मान्यता प्राप्तबाहेक आठ दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने बताइएकोे छ ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रुपमा सक्रिय छन् ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका नेपाल मजदुर किसान पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त समाज पार्टी, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० र राप्रपा नेपाल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।विसं २०७४ को निर्वाचनमा ५४ हजार ६९४ मतदाता रहेकामा अहिले १३ हजार ५० बढेर ६७ हजार ७४४ मतदाता पुगेको उक्त कार्यालयले जनाएको छ ।

विपद्बाट मृत्यु भएकाको परिवारलाई रकम

जुम्लामा विपद्बाट मृत्यु भए सात व्यक्तिका परिवारलाई रु १३ लाख राहतस्वरुप उपलब्ध गराइएकोे छ । चालु आर्थिक वर्षमा विपद्बाट जिल्लमा सात जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विपद्बाट मृत्यु भएका छ जनाको परिवारलाई जनही दुई लाखका दरले रु १२ लाख र अर्का एक जनालाई रु एक लाख प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण कहिले धेरै वर्षा हुने र कहिले सुक्खा खडेरी हुने गरेकाले विपद्का घटना बढिरहेका छन् । गत कात्तिक १ देखि ३ गतेसम्म आएको बेमौसमी वर्षाले जिल्लाको तिला र तातोपानी गाउँपालिकाका एक हजार ११२ किसानको एक हजार ८७३ खेतबारीमा लगाएको काली मार्सीधानमा क्षति पुगेको थियो ।