स्वास्थ्य बीमाको रकम तत्काल उपलब्ध गराउन माग



पाल्पा ।

तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालले सरकारसँग स्वास्थ्य बीमाका बिरामीको उपचार खर्चबापत उपलब्ध गराउनुपर्ने स्वास्थ्य बीमाबापतको रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार खर्चबापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखि सेवा कटौती गर्ने अस्पतालले जनाएको छ ।

युनाइटेड मिसन पाल्पाकी अस्पताल डाइरेक्टर डा. रचेल कारखले हालसम्मको बक्यौता रकमको भुक्तानी, खर्चअनुसारको मूल्य समायोजन, दाबी रकम भुक्तानी १५ दिनभित्र नभएमा अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने बताउनुभएको छ । उहाँले चैत २१ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डबाट सोधभर्ना नहुने बराबरको रकम बिरामीबाटै भुक्तानी लिने जिकिर गर्नुभएको छ । सरकारले पैसा नदिँदा कर्मचारीलाई नियमित तलब खुवाउन, औषधि खरिद गर्न तथा अन्य प्रशासनिक कार्य गर्न नै नसकिने अवस्थामा पुगेको मिसन अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले जिल्लाका सरोकारवालाहरूसँगै पटक–पटक छलफलको प्रयास गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सेवा स्थगित गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । नेपाली कांग्रेसका गगनकुमार थापा स्वास्थ्यमन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बीमालाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भइरहेको भन्दै बहानाबाजी नगर्न र सहज रूपमा सेवा निरन्तर गर्नु आवश्यक रहेको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने उहाँको भनाइ छ ।

श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका र कार्यान्वयन भएका अस्पतालहरुमा नियमित दाबीभुक्तानी गर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डमा ध्यानाकर्षण गराएको बताउनुभयो ।
त्यस्तै, नेकपा एमाले पाल्पाले स्वास्थ्य बीमाको प्रथम सेवा प्रदायक अस्पतालबाट सहज र सुलभ ढंगले सिफारिस उपलब्ध हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले एक विज्ञप्ति जारी गरी पाल्पा अस्पताललाई थप सेवा सुविधासम्पन्न अस्पतालका रूपमा विकास गरी विशेषज्ञ सेवा समेतको व्यवस्था गर्न माग गरेको छ । अस्पतालहरुले स्वास्थ्य बीमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने सार्वजनिक घोषणा फिर्ता गरी निर्वाध रूपमा सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विज्ञप्तिमार्फत एमालेले सम्बन्धित अस्पतालहरुको ध्यानाकर्षण गराएको हो । एमाले पाल्पाले अस्पतालहरुले स्वास्थ्य विमाबाट जनतालाई सेवा दिएबापतको वक्यौता रकम तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्