ग्रामीण सडक प्रदेश सरकारलाई हस्तान्तरण



मुगु ।

बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुगुको ग्रामीण सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाको चंखेलीदेखि हुम्ला जिल्लाको देउलीसम्म निर्माण सम्पन्न गरेको सडक खण्ड एक कार्यक्रमका बीच मंगलबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

चंखेली–१ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रम मुगु–हुम्ला लिंक रोडका टिम लिडर विष्णुराम विष्टले कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीलाई उक्त सडक हस्तान्तरण गर्नुभएको थियो । ग्रामीण पहुँच कार्यक्रमले मुगु जिल्ला सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको देउलीसम्म कुल ६७ किलोमिटर सडक निर्माण सम्पन्न गरे पनि मुगु खण्डको ३७ किलो मिटर सडकमध्ये गमगढी–दर्खे २६ किलोमिटर र दर्खे–चंखेली ११ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई यसअघि नै हस्तान्तण गरिसकेको थियो ।

गमगढीदेखि देउलीसम्म सडक निर्माण सम्पन्न हुँदासम्म १ अर्ब ५७ करोड ८८ लाख ४६ हजार ८ सय ३३ लागत लागेको, यो लागतलाई प्रति किलोमिटरमा हेर्दा प्रतिकिलोमिटर २ करोड ३५ लाख ६४ हजार ८ सय ७८ लागत खर्च भएको टिम लिडर विष्टले बताउनुभयो । जिल्लागत खर्च हेर्दा मुगु खण्डको ३७ किलोमिटर सडकमा ८७ करोड १९ लाख ५ सय १८ रुपयाँ र हुम्लातर्फको ३० किलोमिटरमा ७० करोड ६९ लाख ४६ हजार ३ सय ६६ रुपयाँ खर्च भएको उहाँको कथन छ ।

अर्धमेसिनरी र पूर्ण जनताको सहभागितामा निर्माण भएको यो सडक निर्माण गर्दा ४ लाख ८२ हजार २ सय ५३ पुरुष र ३ लाख २३ हजार ३ सय २७ जना महिला गरी कुल ८ लाख ५ हजार ५ सय ८० जना जनशक्ति खटिएको थियो । सडकको मापदण्ड पूर्णरूपमा पालना गरेर निर्माण सम्पन्न गरिएको छ । सडक हस्तान्तरणपछि सरकारको बेवास्ताले मर्मतसम्भार नभएर जीर्ण हुँदै जाने हो कि भनेर आफूहरु चिन्तित भएको चंखेली गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि धनलाल चौलागाईंले बताउनुहुन्छ । प्रदेश सरकारले सडक नियमित सुचारु गर्न तथा मर्मतसम्भारमा बजेट र जनशक्तिको नियमित व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

मुगु–हुम्ला लिंक सडकको गुणस्तर कायम राख्नेमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रतिनिधि शर्माले प्रतिबद्घता व्यक्त गर्नुभएको थियो । सडक बनेर गाडी चल्न शुचारु भएकाले आफूहरुको खुसीको सीमा नरहेको चंखेली–१ रिमीका स्थानीय भियाल्ली ऐडी बताउनुहुन्छ । गाडी चेलेसँगै औषधि उपचार गर्न, गाउँघरमा उत्पादित फलफूल, अन्न, जडीबुटी बिक्री गर्न मुगु सदरमुकाम गमगढी, हुम्लाको सिमिकोटलगायत देशका विभिन्न शहरमा लैजान सहज भएको उहाँको भनाइ छ ।

सडक निर्माण सम्पन्न भई कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण भए पनि मुगु–हुम्ला सडकमा पर्ने लुम खोला, दर्खे खोला, लेब्रा खोला र मेल्छाम खोलामा साना पुल बनाउने कार्य बाँकी नै छ । यी पुलको पनि निर्माण ग्रामीण पहुँच कार्यक्रमले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्