नेपाली पोशाकको सिलाइ तालिम शुरू



गुल्मी ।

गुल्मीमा महिलाका लागि नेपाली पोशाकको सीपमूलक सिलाइ तालिम शुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शिल्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत २ महिने तालिम शुरु गरिएको हो ।

दुई महिने तालिको लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हेमराज सुवेदीले शुभारम्भ गर्नुभएको थियो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाली पोशाक विद्यालयको पोशाक, गुन्युचोली, जातीय पोशाक तथा नेपाली दौरा सुरूवालको सीपमूलक सिलाइ तालिमको शुभारम्भ गरिएको छ । तालिमको शुभारम्भ गर्दै सचिव सुवेदीले सहभागीहरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरी व्यवसायीमुखी बन्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै, नियमित रूपमा तालिम लिएर सीप सिक्न घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले आग्रह गर्नुभएको थियो । तालिमबाट सीप सिकेर व्यवसायी बन्न सहयोग पुग्ने सहभागीहरुको भनाइ छ । तालिममा १५ जना दलित समुदायका महिला सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्