फेवा नववर्ष महोत्सवको तयारी अगाडि तीव्र


कास्की ।

कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यसहित पोखरामा आयोजना हुने १७ औँ फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेक साइड स्थित फिस्टेल गेटदेखि हल्ल चोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव सञ्चालन हुने छ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरू गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलो पटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए ।

पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिंदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन बिस्तारै बढ्न थालेको जानकारी दिए ।  महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेस्टुरेन्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महँगीका वापजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पछिल्ला वर्षहरूमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यहरू थपिने क्रम रहेको स्मरण गराउँदै यसले पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विचार राखे । विशाल शिव मूर्ति, केबलकार, बन्जी जम्पिङ र जिपलाइन जस्ता पर्यटकीय सम्पदाले यस क्षेत्रमा आकर्षण थपिएको पराजुलीले बताए । होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि कार्यक्रममा आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

परम्परागत नेपाली खानाको प्रस्तुति र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, प्रख्यात कलाकारबाट पप कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रस्तुति र लोक दोहोरीका कार्यक्रम महोत्सवका आकर्षण रहेका छन् । अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी ती कार्यक्रमहरु सञ्चालन गरिने संघले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्य महोत्सवले लिएको छ । अन्नपूर्ण केबलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको छ ।