रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछ : राष्ट्रपति जेलेन्स्की


एजेन्सी ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् ।

बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् । रुसले सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ ।