‘इच्छाएको दलमा लाग्नुस्, उच्च नैतिकता देखाउनुस्’



बाँके ।

प्रधानसेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकलाई जुनकुनै दलमा लागे पनि समाजमा उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । नेपालगन्जमा आयोजित नेपाली सेना भुपु सैनिक सम्मेलनमा बोल्दै उहाँले सो बताउनुभएको हो ।

‘तपाईंहरु इच्छाएको राजनीतिक दलमा लाग्नुस् । तर, सेनामा हुँदा सिकेको उच्च नैतिकवान्, राम्रो र अनुशासित चरित्र प्रदर्शन गर्नुस्’, प्रधानसेनापति शर्माले भन्नुभयो– ‘समाज राम्रो हुँदा राष्ट्र राम्रो हुन्छ ।’ उहाँले राष्ट्रियहितको रक्षा गर्न सेना सधंै गम्भीर रहेको बताउँदै राष्ट्रलाई आपत् पर्दा भूपू सेनाले गरेको सहयोगको उच्च प्रशंसा गर्नुभएको थियो ।

प्रधानसेनापति शर्माले सामूहिक फाइदाका लागि काम गर्न आग्रह गर्नुभयो । राष्ट्रलाई आवश्यक परेका बेलामा भूतपूर्व सैनिकहरु जिउज्यान दिन तयार रहनुपर्ने उहाँको कथन छ । प्रधान सेनापति शर्माले स्रोत साधनले भ्याएसम्म भूपू सैनिकको जीवनस्तर उकास्न सेनाले विभिन्न योजनाहरु बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको समेत जानकारी गराउनुभएको थियो ।

सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानाउँदै त्यसको छिट्टै कार्यानवयन हुने शर्माको भनाइ छ । नेपाली सेनाले लमजुङमा नेपाली सेना कृषि कलेज स्थापना गरिसकेको छ ।

प्रधानसेनापति शर्माले शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सेवा सहुलियत यी चार खम्बालाई आधार बनाएर सैनिक कल्याणकारी कोषको लगानी बढाएको बताउनुभयो । सैनिक कल्याणकारी कोषमा अहिले ६४ अर्बभन्दा बढी रकम मौज्जाद छ । २०३४ सालमा एक करोड २४ लाखबाट कोषको स्थापना गरिएको थियो । उक्त रकमको ब्याजबाट सैनिक हितका कार्य सञ्चालन हुने र मूल धन नचलाइने शर्माले बताउनुभयो । लिएको ऋण समयमै तिर्न पनि भूपू सैनिकलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै, बलाधिकृत रथी बालकृष्ण कार्कीले सैनिक कल्याणकारी कोषको सेवा सुविधा विस्तार गर्दै स्वेदशमै रोजगारीको अवस्था सिर्जना गर्न लागिपरेको बताउनुभयो । भूपू रथी नेपालभूषण चन्द, सहायक रथी डा. केशवबहादुर भण्डारी, गौरव तण्डुललगायतले कल्याणकारीको कार्यक्रमबारे जानकारी दिने र भूपूलाई परेको पीरमर्का बुझ्न यस प्रकारको सम्मेलन भइरहेको बताउनुभयो ।

सो अवसरमा सेनाले ज्येष्ठ र अशक्त नागरिकलाई सहयोग, उत्कृष्ट उद्यमीलाई पुरस्कृत र केहीलाई कर्जा प्रदान गरेको थियो । सम्मेलनमा मार्चपास, विभिन्न जातजाति भेषभुसाको नाच देखाइएको थियो । प्रधानसेनापति शर्माले भुपु सैनिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरुको गुनासो सुन्नुभएको थियो । सेनाले यो वर्ष यस्ता चारवटा कार्यक्रम गरिसकेको छ । अर्को वर्ष मध्य र उपत्यका हेडक्वार्टरअन्तर्गत र तेस्रो वर्ष पूर्वी क्षेत्रमा सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्