भैरहवामा नेवानिले पहिलो परीक्षण उडान भर्ने



काठमाडौं ।

निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पहिलो परीक्षण उडान गर्ने भएको छ ।

आगमी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने गरी तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण शुरू गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौं, परीक्षण उडान नेपाल वायुसेवाले गर्ने छ ।’ उक्त विमानस्थलमा व्यावसायिक उडान गर्नका लागि हालसम्म एघार कम्पनीको चासो देखाएको उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

आगामी वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान शुरू गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यवसायिक उडान गर्न निर्देशन दिनुभएसँगै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक उडानका लागि तयारी गरेको हो ।

उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन भने बाँकी रहेको बताइएको छ । फागुन पहिलो साता भएको क्यालिब्रेसन उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा उडान हुने भएकाले उक्त विमानस्थलमा चाँडो व्यावसायिक उडान गर्नु मन्त्री आलेको बुझाइ रहेको छ ।

यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलमा व्यावसायिक उडानका लागि चासो देखाउनेमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर रहेका छन् ।

व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलोपटक हप्ताको सातै दिन उडान गर्ने जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सीधा उडान गर्न अनुमति मागेको छ ।

प्रतिक्रिया दिनुहोस्