टोस्टमास्टर्स नेपालको चौथो सम्मेलन



काठमाडौं (नेस) ।

टोस्टमास्टर्स नेपालको चौथो वार्षिक डिभिजन सम्मेलन आउँदो शनिबार ठमेलको अलफ्ट काठमाडौंमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यावसायिक संगठन र अन्य समुदायका करिब ४ सय ५० सदस्य उपस्थित हुने आयोजकले जनाएको छ ।

यो कार्यक्रमको मुख्य आकर्षण ह्युमरस स्पीच प्रस्तुति रहेको छ । जसमा विभिन्न ३ डिभिजनका प्रतिनिधिले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनेछन् । हरेक वर्ष एक जना गैर टोस्ट मास्टरलाई उहाँको सञ्चार र नेतृत्व क्षमताको लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गरिन्छ । २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा टोस्टमास्टर्स सदस्यले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् । सन् १९९१ मा काठमाडौं टोस्ट मास्टर्स क्लबबाट सुरुआत भएको टोस्ट मास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्ट मास्टर्स क्लबलगायत ८ वटा क्लब मात्र थिए । त्यसपश्चात् डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केही वर्ष यता क्लबहरू विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ५२ वटा क्लब र १ हजार ३ सयभन्दा बढी सदस्यहरू रहेका छन् ।

डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डीटीएम रञ्जित आचार्यले भन्नुभयो– ‘नेपालले डिस्ट्रिक्ट ४१ टोस्टमास्टर्स पहिलो चोटि आयोजना गर्दै छ र साइटेसन २०२२ उत्तर र पूर्वी भारत तथा बंगलादेशजस्ता सदस्य राष्ट्रहरूले उत्साहका साथ प्रतीक्षा गरिरहेका छन् ।’ यो सम्मेलनले सम्पूर्ण नेपाली टोस्टमास्टर्सहरूलाई एकताबद्ध गर्नेछ ।

डिभिजन ए(नेपाल), डिस्ट्रिक्ट ४१ को डिरेक्टर डीटीएमसुमन शाक्यले भन्नुभयो – ‘साइटेसन २०२२ टोस्टमास्टर्स काठमाडौंका सदस्यका लागि मात्र नभएर पोखरा, चितवन, वीरगन्ज, बुटवल, भैरहवा, धरान र झापाका टोस्टमास्टरहरूको लागि पनि सिक्ने, सञ्जाल विस्तार गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्