लमजुङ ।
आगामी स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन लमजुङका करिब ४ सय महिलाले आवेदन दिएका छन् । आवेदन दिने २६ सय २२ मध्ये ३ सय ९६ जना महिला रहेका हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि निधारित समयसीमाभित्र २ हजार ६ सय २२ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला मात्रै रहेका छन् । म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो । गत ११ गतेदेखि आवेदन खुला भएको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार १८ देखि ५२ वर्षसम्मका महिलाले आवेदन दिएका छन् ।
उहाँका अनुसार बढी मात्रामा जिल्लाको ग्रामीण भेगका नगरिकले आवेदन दिएका छन् । जिल्लामा २६ सय बढीको आवेदन परे पनि ९ सय ८७ जनालाई मात्र छनोट गरिने उहाँको कथन छ । शारीरिक परीक्षणअन्तर्गत दौड, सेटअप, पुसअप, उचाइ, तौलसहित भर्ना छनोटको प्रक्रिया पूरा गरी लिखित परीक्षा उत्र्तीण गरेकालाई मात्र छनोट गरिने रेग्मीले बताउनुभयो ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि स्वास्थ्य तथा शारीरिक मापदण्ड प्रहरी जवानसरह हुनेछ । भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।
सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीका लागि चैत २२ सम्म सबै परीक्षण सकेर अन्तिम नतिजा प्रकाशन गरी चैत २८ बाट प्रशिक्षण शुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।
प्रतिक्रिया