गण्डकीमा सत्तारुढ दलबीच तालमेल गर्ने सहमति



कास्की (नेस) ।

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबिच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि यसको तयारी गरिएको छ । नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको पाँच दलका प्रदेश तथा जिल्ला तहका नेताहरूको बैठकले आशन्न स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका जानकारी दिनुभयो ।

बैठकले निर्वाचनका लागि प्रदेशस्तरमा गठबन्धन बनाउँदै पाँच दलको संयुक्त घोषणापत्र जारी गर्ने र गठबन्धनका दलहरूबीच सोहार्दपूर्ण वातावरण तयार गरी कार्ययोजना र कार्यदिशा दिने निर्णय गरेको छ ।
गठबन्धनका गण्डकी प्रदेशभित्र दलहरूले आगामी आआफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरण मातहतका संगठनबाट संकलन गरी विस्तृत विवरण आगामी बैठकमा पेस गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

गठबन्धनको आगामी बैठक आगामी चैत २२ गते पुनः अर्को बैठक बस्ने जनाइएको छ । बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतीप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्